धनकुटाको साँगुरीगढीमा अवस्थित मुक्तिनाथ मन्दिर धार्मिक आस्था र पर्यटकीय गन्तव्यको रूपमा लोकप्रिय बन्दै
हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–९ चाँदीबजारमा अवस्थित मुक्तिनाथ मन्दिर पछिल्ला दिनहरूमा धार्मिक आस्था र पर्यटकीय गन्तव्यको रूपमा लोकप्रिय बन्दै गएको छ।
गाउँपालिका र स्थानीय बासिन्दाहरूको सहयोगमा निर्माण गरिएको मन्दिरमा स्थानिय तथा बाह्य पर्यटकहरू आउने गरेको पाइन्छ।
हाल मन्दिरमा पूजा कक्ष, मूल गेट र विश्रामस्थल निर्माण सम्पन्न भइसकेको छ। गाउँपालिकाले मन्दिरलाई धार्मिक पर्यटन र प्रवर्द्धनको केन्द्र बनाउने तयारी अघि बढाएको छ।

हरियालीले ढाकिएको डाँडाकाँडा, शान्त वातावरण, प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्वले भरिएको यो मन्दिर चाँदीबजार चोकबाट थोरै माथि थुम्की जंगलमा अवस्थित छ। मुक्तिनाथ मन्दिर मात्र होइन, चाँदीबजारलाई चिनाउने अर्को विशेष पक्ष भनेको किराँत राई समुदायको इतिहास बोकेको ‘वावुको स्तम्भ’ हो, जसले यस क्षेत्रमा सांस्कृतिक गौरव थपिदिएको छ।
धार्मिक आस्था, प्रकृति प्रेम र सांस्कृतिक सम्पदाको प्रतीक मुक्तिनाथ मन्दिर चाँदीबजारको पहिचान बनिरहेको छ।


