देशभरका ६ महानगरमध्ये सबैभन्दा कम बेरुजु विराटनगरमा

विराटनगर । देशका ६ वटा महानगरपालिकामध्ये विराटनगर महानगरपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदनअनुसार विराटनगर महानगरको ०.३२ प्रतिशत मात्र बेरुजु देखिएको हो । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०÷८१ मा विराटनगर महानगरको ६ अर्ब ४४ करोड ७६ लाख रुपैयाँको लेखापरीक्षण हुँदा जम्मा २ करोड ८ लाख ५७ हजार रुपैयाँ बेरुजु देखिएको छ । आव २०८०÷८१ मा २१ करोड बेरुजु फछ्र्यौट भएको भएको महानगरको आर्थिक प्रशासन महाशाखाका प्रमुख संजीवकुमार भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा १ अर्ब ६३ करोड ५७ लाख ४३ हजार बेरुजु रहेकोमा आव २०७८÷७९ मा २२ करोड ९४ लाख ८१ हजार थपिएको थियो । जसमा आव २०७८÷७९ मा १ अर्ब १९ करोड ४२ लाख ५२ हजार बेरुजु फछ्र्यौट गरिएको थियो । २०७८÷७९ सम्म कूल बेरुजु ७६ करोड ९ लाख ७२ हजार रहेमामा आव २०७९÷८० मा ७ करोड ११ लाख ५३ हजार बेरुजु थपिएको थियो । सो आवमा २३ करोड ८३ लाख फछ््र्यौट गरिएको थियो । २०७९÷०८० सम्म कूल बेरुजु ५० करोड ३८ लाख २५ हजार बाँकी रहेकामा आव २०८०÷०८१ मा २ करोड ८ लाख थपिएको सहित २१ करोड फछ्र्यौट भई आव २०८०÷०८१ मा ३१ करोड ४६ लाख २५ हजार मात्र महानगरपालिकाको कूल बेरुजु बाँकी रहेको आर्थिक प्रशासन महाशाखाका प्रमुखले जानकारी दिनुभयो ।

जुन तीन आर्थिक वर्षअघि महानगरको कूल बेरुजु १ अर्ब ६३ करोड ५७ लाख ४३ हजार थियो । महानगरको बेरुजु हरेक आव घट्दै गएको उहाँको भनाइ थियो । आव २०७९÷०८० मा ७ करोड ११ लाख ५३ हजार बेरुजु रहेकोमा २०८०÷०८१ मा २ करोड ८ लाख मात्रै बेरुजु देखिएको छ । जुन ०.३२ प्रतिशत मात्रै हो ।

महानगरका मेयर नागेश कोइरालाले आफू नेतृत्वमा आएदेखि बेरुजुलाई शून्यमा झार्ने लक्ष्यका साथ काम गरिरहेको बताउनुभयो । आफू नेतृत्वमा आउँदा झण्डै २ अर्ब बेरुजु रहेकामा हाल महानगरको कूल बेरुजु ३१ करोडमा झार्न सफल भएको मेयर कोइरालाको भनाइ छ । मेयर कोइरालाले सुरुको वर्ष २२ करोड ९४ लाख ८१ हजार, दोस्रो वर्ष ७ करोड ११ लाख ५३ हजार र कार्यभार सम्हालेको तेस्रो वर्ष अर्थात् आव २०८०÷०८१ मा २ करोड ८ लाख रुपैयाँ बेरुजु झार्न सफल भएको उहाँले बताउनुभयो । ‘हामी महानगरको नेतृत्वमा आउँदा कूल बेरुजु झण्डै २ अर्ब रुपैयाँ थियो । त्यसलाई हालसम्म ३१ करोडमा झारेका छौं,’ उहाँले भन्नुभयो, ‘कूल बेरुजु मात्रै होइन वार्षिक रुपमा आउने बेरुजुलाई पनि धेरै घटाएका छौं । हामी आउँदा वार्षिक बेरुजु २२ करोड थियो । तेस्रो वर्षमा आइपुग्दा २ करोडमा झारेका छौं । बेरुजुलाई शून्यमा झार्ने लक्ष्यका साथ काम गरिरहेका छौं ।’ आर्थिक सुशासनलाई सबैले पालना गरेका कारण बेरुजु घट्दै गएको मेयर कोइरालाको भनाइ छ । सबै जनप्रतिनिधि र कर्मचारीहरूको साथ र सहयोगले बेरुजु उल्लेख्य मात्रामा घटाउन सफल भएको मेयर कोइरालाले बताउनुभयो ।

यसैबीच, विराटनगर महानगरपछि ललितपुर दोस्रो कम बेरुजु देखिएको महानगर हो । ललितपुरको १० अर्ब ६८ करोड ९७ लाख रुपैयाँ लेखापरीक्षण हुँदा ५ करोड ५५ लाख रुपैयाँ बेरुजु देखिएको छ, जुन कुल बजेटको ०.५२ प्रतिशत हो । भरतपुर महानगरपालिकामा ११ अर्ब १३ करोड ३ लाख रुपैयाँ लेखापरीक्षण गर्दा १० करोड २ लाख रुपैयाँ बेरुजु देखिएको छ, जुन ०.९० प्रतिशत हो । राजधानी काठमाडौं महानगरमा भने २७ अर्ब ५२ करोड ४४ लाख रुपैयाँ लेखापरीक्षण गर्दा ६८ करोड २ लाख रुपैयाँ बेरुजु देखिएको छ । यो कुल रकमको २.४७ प्रतिशत हो ।

वीरगञ्ज महानगरपालिकामा ६ अर्ब २८ करोड १६ लाख रुपैयाँ लेखापरीक्षण हुँदा २२ करोड ७५ लाख रुपैयाँ बेरुजु देखिएको छ, जुन ३.६२ प्रतिशत हो । महानगरहरूमध्ये सबैभन्दा बढी बेरुजु पोखरा महानगरपालिकामा देखिएको छ । पोखराको १३ अर्ब ४६ करोड ७२ लाख रुपैयाँ लेखापरीक्षण हुँदा ५० करोड ४३ लाख रुपैयाँ बेरुजु देखिएको छ, जुन ३.७४ प्रतिशत हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।