साँगुरीगढीको आहालेमा बेस्राङ, थाप्चुवा, खयरबोटे सडक स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढ्दै
हिराराज राई , धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–९ आहाले अन्तर्गत बेस्राङ देखि थाप्चुवा हुँदै खयरवोटेसम्मको सडक स्तरोन्नतिको कार्य तीव्र गतिमा अघि बढिरहेको छ।
गाउँपालिका बाट चालु आर्थिक वर्ष २०८१/८२ मा विनियोजन भएको ९ लाख रुपैयाँको लागतमा सडक स्तरोन्नतिको काम सञ्चालन भइरहेको हो। हाल सडकको चौडाइ ५ देखि ६ मिटरसम्म विस्तार गर्दै कटिङ कार्य भइरहेको वडा नं ९ का वडा सदस्य देवराज राईले जानकारी दिनुभयो।
सडक स्तरोन्नति सँगसँगै खयरवोटे क्षेत्रमा रहेको ग्याविन जालीको वाल समेत विस्तार गर्नुपर्ने उहाँले बताउनुभयो।
स्थानीयवासी तथा सवारी साधन प्रयोगकर्ताहरूले सडक स्तरोन्नतिसँगै यातायातमा सहजता आउने र आर्थिक गतिविधिमा समेत वृद्धि हुने अपेक्षा गरेका छन्।
गाउँपालिकाले तोकिएको समयसीमाभित्र काम सम्पन्न गर्न आवश्यक समन्वय तथा निगरानीलाई प्राथमिकता दिएको जनाइएको छ।





