साँगुरीगढीको बेस्राङ, थाप्चुवा र खयरवोटे क्षेत्रमा सडक स्तरोन्नति तथा नयाँ सडक विस्तारको कार्य सम्पन्न
हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–९ बेस्राङ, थाप्चुवा र खयरवोटे क्षेत्रमा सडक स्तरोन्नति तथा नयाँ सडक विस्तारको कार्य सम्पन्न भएको छ। गाउँपालिकाबाट आर्थिक वर्ष २०८१/८२ मा विनियोजन भएको ९ लाख रुपैयाँको बजेटबाट यो कार्य सम्पन्न भएको हो।
वडा नं. ९ का वडा सदस्य चन्द्रमाया वि.क. का अनुसार, हाल बेस्राङ क्षेत्रमा सडकको चौडाइ ५ देखि ६ मिटरसम्म बढाइएको र नयाँ सडक विस्तारका लागि आवश्यक कटिङ कार्यसमेत सम्पन्न भइसकेको जानकारी दिनुभयो। सडक विस्तारसँगै सवारी आवागमनमा सुधार आएको र स्थानियवासीहरूमा खुशीको प्रेरणा छाएको देखिन्छ।
थाप्चुवा क्षेत्रमा रहेको दुई वटा साँघुरा घुम्तीलाई पनि फराकिलो बनाइएको छ। यसअघि ती घुम्तिहरूमा गाडी मोड्न निकै कठिनाइ भैइ रहेको थियो। तर अहिले उक्त स्थानहरूलाई सुधार गरेपछि सवारी साधनले सजिलै घुम्ती मोड्न सक्ने भएको छ, जसले दुर्घटनाको जोखिम समेत कम गरेको स्थानीयवासीहरू बताउँछन्।
र खयरवोटे क्षेत्रमा वर्षातको समयमा माथिबाट खस्ने माटोका कारण पहिरोको जोखिम बढ्ने समस्या समाधान गर्नका लागि ग्याविन जालीको वाल निर्माण कार्य धमाधम भइरहेको छ। ग्याविन जालिको वालले पहिरोको सम्भावित क्षति न्यूनीकरणमा सहयोग पुग्ने सँगै सडक बलियो हुने स्थानियहरूको भनाई रहेको छ।
स्थानीयवासी तथा सवारी साधन प्रयोगकर्ताहरूले सडक स्तरोन्नतिपछि यातायात सहज बनेको अनुभव गरिरहेका छन्। यसले स्थानिय आर्थिक गतिविधिमा पनि सकारात्मक असर पार्ने विश्वास गरिएको छ। विशेषगरी कृषिजन्य उत्पादनलाई धरान बजारसम्म पुर्याउन सजिलो हुने भएकाले किसानहरू समेत उत्साहित देखिन्छन्।
गाउँपालिकाले तोकिएको समयसीमाभित्रै काम सम्पन्न गर्न प्राविधिक समन्वय, जनशक्ति परिचालन तथा नियमित निगरानीलाई प्राथमिकता दिएको जनाएको छ। र यस प्रकारका विकास योजनाहरूले गाउँको समग्र विकासमा टेवा पुर्याउने अपेक्षा पनि गरिएको छ।


