अपडेट : झापाको दमकमा आफ्नै शरीरमा पेट्रोल छर्की आगो लगाएकी शोभाको मृत्यु
झापा । झापा दमक–१ भानुभक्त चोककी ३० वर्षीया शोभाकुमारी साहको मृत्यु भएको छ।
आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी उनलाई उपचारका क्रममा गएराति बीएण्डसी अस्पताल, बिर्तामोडमा चिकित्सकले मृत घोषित गरेका हुन्।
हिजो दिउँसो करिब साढे ४ बजे आफ्नै तीनतले घरको दोस्रो तलामा कोठाको ढोका थुनेर उनले पेट्रोल छर्की आगो लगाएकी थिइन्। दमक अस्पतालमा सामान्य उपचारपछि उनलाई धरान पठाइएको थियो तर त्यहाँ चिकित्सक नहुँदा पुनः बिर्तामोड ल्याइएको हो।
शोभा मनोज साहकी कान्छी श्रीमती हुन्। पहिलो पत्नीको निधनपछि मनोजले उनलाई भारतको मुजफ्फरपुरबाट विवाह गरेका थिए। केही समयदेखि घरायसी विवाद हुँदै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ।
गत असार ३२ गते शोभा छोरी सुरभीसहित बेपत्ता भएकी थिइन्। छोरी ६ दिनपछि भारतको सिलिगुडीस्थित पार्कमा फेला परेकी थिइन् भने शोभा भने बेपत्ता रहिन्। हिजो मात्र उनी घर फर्केकी थिइन् र त्यसपछि आत्मदाहको प्रयास गरेकी थिइन्।-खबर खेती


