जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको दुई थान हतियार फेला ,पांचथरका एक जना पक्राउ
झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको दुई थान हतियार प्रहरीले फेला पारेको छ। विशेष सुराकीका आधारमा प्रहरीले शुक्रबार मिक्लाजुङ–३, पाँचथरका २२ वर्षीय सुशिल फियाक (लिम्बु) लाई पक्राउ गरी हतियार बरामद गरेको हो।
प्रहरीका अनुसार मिति भदौ २४ गते दमकमा भएको तोडफोड, आगजनी तथा प्रहरीका हतियार लुटपाट घटनामा संलग्न रहन सक्ने आशंकामा फरार व्यक्तिहरूको खोजतलास जारी थियो।
त्यही क्रममा मिति मंसिर २ गते दिउँसो ०१:३० बजेतिर दमक नगरपालिका–६ बाट सुशिल फियाकलाई नियन्त्रणमा लिइएको हो। प्रारम्भिक सोधपुछमा उनले आफ्नै गाउँ मिक्लाजुङ–३, आरुबोटे, लामागाउँस्थित एक ओडारमा हतियार लुकाइ राखेको स्वीकारेका थिए।
उनको बयानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरसँग समन्वय गर्दै प्र.नि. नबिन राईको कमाण्डमा खटिएको टोलीले ओडारबाट तल उल्लेखित हतियार तथा गोलीगठ्ठा बरामद गरेको छ ।
बरामद हतियार तथा गोली:
1. सिरियल नम्बर 62038 भएको म्याग्जिनसहितको .303 मार्क–3 राइफल – १ थान
2. सिरियल नम्बर 031102739 भएको म्याग्जिनविहीन, बट र ह्याण्ड–ग्रिप जलेको अवस्थामा रहेको इन्सास राइफल – १ थान
3. इन्सास राइफलका जङ्गी राउण्ड – १ थान
4. SLR का जङ्गी राउण्ड – ३ थान
पक्राउ परेका सुशिल फियाकविरुद्ध हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा इ.प्र.का. दमकबाट थप अनुसन्धान तथा कानूनी प्रक्रियाहरू अघि बढाइने प्रहरीले जनाएको छ।


