मोरङमा दुई फरार प्रतिवादी पक्राउ
मोरङ । लागू औषध र मानव बेचबिखनसम्बन्धी मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
लागू औषधसम्बन्धी चालु मुद्दामा मोरङ जिल्ला अदालत, विराटनगरले २०७८ सालदेखि फरार सूचीमा राखेको मिक्लाजुङ गाउँपालिका–३ का २१ वर्षीय करण खिनाल दर्जीलाई प्रहरीले मंसिर ५ गते साँझ ५ बजे पक्राउ गरेको हो। उनलाई आवश्यक प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखेर थप अनुसन्धान भइरहेको छ।
यस्तै, मानव बेचबिखनसम्बन्धी मुद्दामा २०६७ सालदेखि फरार सुन्दरहरैचा नगरपालिका–६ बस्ने ५० वर्षीया बिना राई (लिम्बु) पनि पक्राउ परेकी छिन्।
मंसिर ४ गते राति ८:३० बजे राईलाई नियन्त्रणमा लिएको हो। उनलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।


