भेडेटारमा अंग्रेजी नयां बर्षमा खाना महोत्सव
हिराराज राई,धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका-६ स्थित भेडेटारमा १३ औँ खाना महोत्सव अर्थात भेडेटार फुड फेस्टिभल आयोजना हुने भएको छ। होटल एशोसिएसन भेडेटारले वुधबार पत्रकार सम्मेलन गरी पौष १६ गतेदेखि १८ गतेसम्म महोत्सव सञ्चालन हुने जानकारी दिएको हो।
अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा आयोजना हुन लागेको यस महोत्सवमा विभिन्न जातीय तथा अर्गानिक खानाका परिकारहरू प्रस्तुत गरिनेछन्। साथै खाद्यान्न, नगदे बाली तथा औद्योगिक बाली, फलफूल, तरकारी, आलु र स्थानीय कृषि उत्पादनका स्टलहरू पनि रहने आयोजकले जनाएको छ।
आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको होटल एशोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिए।
महोत्सव अवधिभर भेडेटारका धार्मिक तथा पर्यटकीय स्थलहरूमा पर्यटकलाई पुर्याउने व्यवस्था गरिनेछ। भेडेटारमा तराईका विभिन्न जिल्लासहित छिमेकी देश भारतबाट समेत ठूलो संख्यामा पर्यटक आउने गरेका छन्।
फेस्टिभलमार्फत करिब २ करोड ५० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार हुने र ५० देखि ६० हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ।
भेडेटार क्षेत्रमा स्काई वाक, सैलुङडाँडा (चार्ल्स भ्यू टावर), पाथिभरा देवी मन्दिर, शंखेश्वर मन्दिर, थाकल डाँडा, आत्मा घर, जनजाति पार्क थुम्की, सिम्सुवा झरना, साँगुरीगढी, होमस्टे, ओख्रे भू–टावर, ध्वजे डाँडा लगायतका प्रमुख पर्यटकीय गन्तव्यहरू रहेका छन्।


