बेलायतमा किराती एकताको उदाहरण,उभौली साकेला र स्याँदर उत्सव सम्पन्न

राम कृष्ण सुनुवार ‘आँकाला’, उत्तर योर्कशायर । किरात राई तथा सुनुवार समाज क्याट्रिक योर्कशायरको आयोजनामा यलम्बर सम्बत ५०८६ को उभौली साकेला र साकेन्वा र स्याँदर उत्सव शनिबार, ९ मे २०२६ का दिन अत्यन्त भव्य, सभ्य तथा ऐतिहासिक रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा उत्तर बेलायतका विभिन्न शहरहरू — कार्लाइल, लिड्स, न्युक्यासल, हडर्सफिल्ड तथा डार्लिङ्ग्टनबाट किराती समुदाय, नेपाली समुदाय, सेवारत सैनिक परिवार, विशिष्ट अतिथि, छिमेकी समुदाय तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

एक विद्यालयको हलमा सम्पन्न कार्यक्रममा करिब १५० भन्दा बढी महानुभावहरूको उपस्थिति रहेको थियो। कार्यक्रमले किरात राई तथा सुनुवार समुदायको भाषा, धर्म, संस्कृति, भेषभूषा, परम्परा, मौलिक पहिचान तथा सामुदायिक एकताको सशक्त सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।

कार्यक्रमको उद्घाटन अग्रज पुजारी श्री गजुरमान राई र संस्थाका अध्यक्ष श्री नन्दराज राईले साकेला थानमा स्थापित पारुहाङ–सुम्निमा तथा यलम्बरका तस्बिरहरू अगाडि पितृहरूको स्मरण गर्दै तीन चुला मानी तीन वटा पानस दीप प्रज्वलन गरी गर्नु भएको थियो।

उत्सवमा साकेला सिली, स्याँदर नृत्य, विविध सांस्कृतिक प्रस्तुति, सामूहिक भेटघाट तथा परम्परागत किराती परिकार मुख्य आकर्षणका रूपमा रहेका थिए। विशेषगरी ताजा सुँगुरको भुटुवा, सेलरोटी, अचार, चट्नी तथा घरमै बनाइएका विभिन्न मौलिक परिकार र पेय पदार्थले उपस्थित सम्पूर्ण पाहुनाहरूलाई नेपाली तथा किराती स्वादको विशेष अनुभूति गराएको थियो।

श्रीमती अनिला राईको नेतृत्वमा सिलिमोमा–सिलिमोपा तथा ढोलेहरूले कार्यक्रमभरि नृत्य र सांस्कृतिक प्रस्तुति मार्फत सम्पूर्ण सहभागीहरूलाई किरात संस्कृतिको मौलिक अनुभव गराएका थिए। त्यस्तै सुनुवार कोइञ्च किरात संस्कृतिको मौलिक स्याँदर सिलको पनि भव्य प्रस्तुति गरिएको थियो, जस मार्फत उपस्थित जनसमुदायलाई सहभागी गराई यसको विशेष सांस्कृतिक अनुभूति दिलाइएको थियो।

कार्यक्रमका क्रममा समाजका अध्यक्ष नन्दराज राईले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण कार्य समिति, सल्लाहकार, स्वयंसेवक, सिलिमोमा–सिलिमोपा, ढोले, पुजारी, जलपान संयोजक, सरसफाइ तथा यातायात सहयोगी, संगीत तथा प्राविधिक टोली, प्रायोजक, दाता तथा सम्पूर्ण समुदायप्रति हार्दिक आभार व्यक्त गर्नु भयो।

उहाँले विदेशमा रहेर पनि किराती सभ्यता, संस्कार तथा पहिचानलाई जीवन्त राख्न यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो। उहाँका अनुसार, “उभौली, स्याँदर र साकेला केवल चाडपर्व मात्र होइनन्, यी हाम्रो अस्तित्व, एकता, प्रकृतिप्रतिको सम्मान तथा पुर्खाहरूको स्मरणसँग जोडिएका अमूल्य सांस्कृतिक धरोहर हुन्। यस्ता कार्यक्रमहरूले विदेशमा जन्मँदै र हुर्कँदै गरेका नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कार, भेषभूषा, गरगहना तथा पहिचानसँग जोड्ने महत्वपूर्ण कार्य गरिरहेका छन्।”

बहुभाषिक तथा बहुजातीय नेपाली समाजको विविधता र मौलिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन यस्ता सांस्कृतिक कार्यक्रमहरूले महत्वपूर्ण योगदान पुर्‍याइरहेका छन्। नेपाल र नेपालीपनसँग भावनात्मक सम्बन्ध कायम राख्दै भविष्यका पुस्तासम्म संस्कृति हस्तान्तरण गर्नु सम्पूर्ण समुदायको साझा दायित्व भएको आयोजकहरूको भनाइ रहेको छ।

कार्यक्रम भरि आपसी सद्भाव, भाइचारा, सम्मान तथा एकताको वातावरण देखिएको थियो। सहभागीहरूले विदेशको भूमिमा पनि आफ्नोपन, पारिवारिक भावना तथा सामुदायिक आत्मीयता महसुस गरेको प्रतिक्रिया दिएका थिए। कार्यक्रमको समापनमा सुम्निमा–पारुहाङ, पुर्खा तथा प्रकृतिको आशीर्वादले सम्पूर्ण मानव समुदायमा शान्ति, सुख, समृद्धि, स्वास्थ्य तथा एकता कायम रहोस् भन्ने कामना गरिएको थियो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।