गान्तोकमा माटो कवि जीवन थिङको शालिक स्थापना

गान्तोक । दशकौँको पर्खाइपछि सिक्किममा माटो कवि जीवन थिङको मूर्ति स्थापनाको सपना साकार भएको छ । राजधानी गान्तोकको मनन केन्द्र र रचना बुक्सनजिकै जीवन थिङ मार्गमा जीवन थिङको शालिककाे बुधबार अनावरण गरियो । अखिल सिक्किम तामाङ बौद्ध संघको तत्त्वावधानमा आयोजित समारोहमा गान्तोक नगर निगमकी मेयर छिरिङ पाल्देन भोटियाको करकमलबाट मूर्तिको विधिवत् अनावरण गरियो ।

समारोहलाई सम्बोधन गर्दै मुख्य अतिथि श्रीमती छिरिङ पाल्देनले यस ऐतिहासिक एवम् गौरवमय क्षणको साक्षी बन्ने अवसर जुराइदिएकोमा आयोजकप्रति कृतज्ञता प्रकट गरिन् । उनले जीवन थिङ जस्ता माटोप्रेमी कवि तथा साहित्यकारको मूर्ति स्थापना गरेर उनको साहित्यिक योगदानको मूल्याङ्कन भएको बताइन् । समारोहमा पत्रकार तथा कवि प्रवीण खालिङले जीवन थिङको जीवनीमाथि विस्तृत रूपमा प्रकाश पार्दै थिङले विश्व साहित्य-सङ्गीतका महत्वपूर्ण हस्ती जोहन किट्स, पर्सिबीसी शेली र भिक्टर हारा जस्तै कम्ती बाँचेर धेरै काम गरेको बताए । सन् १९५५ डिसेम्बरमा १९ मा जन्म ग्रहण गरेका थिङले छोटो जीवनमा अमर कर्महरू गरेको बताउँदै खालिङले उनको नाममा बाटोको नाम राखिएको दशकौँपछि मात्र उनले माटो पाएको अनि ढिलै भए तापनि उनको मूर्ति स्थापना हुनुले यस साहित्य र समाजलाई माया गर्नेहरूमा हर्षित र गौरवान्वित बनेको मन्तव्य गरे ।

थिङले कलिलो उमेरमा लेखेका कथाले अन्तरराष्ट्रिय स्तरको मान्यता प्राप्त गरेको तथा नेपालबाट रत्नश्री स्वर्णपदक प्राप्त गरेको उनले जानकारी गराए। उक्त पुरस्कार २३ वर्षपछि सिक्किम ल्याइपुऱ्याएको बताउँदै यस महत् कार्यमा डा उदय छेत्री र तत्कालीन सिक्किम साहित्य परिषद्का अध्यक्ष प्रद्युम्न श्रेष्ठको योगदान महत्वपूर्ण रहेको बताए । जीवन थिङको मूर्ति स्थापित भएपछि अब उनको नामको साहित्यिक व्याख्यानमालाहरू सञ्चालनमा ल्याउनुपर्ने खालिङले सुझाउ राखे। जीवन थिङको माटो प्रेम राजनैतिक भूगोलको माटो प्रेम नभएर जन्मेको ठाउँप्रतिको साश्वत मायाको रूपमा हेरिनुपर्ने बताए । सबै कुरा राजनैतिक आँखाबाट मात्र नभएर सामाजिक साहित्यिक र कलात्मक आँखाबाट हेर्नुपर्ने उनले बताए । खालिङले अबउसो डेभलपमेन्ट एरिया जाने बाटोमा पर्ने कार्यालय र पत्रचारहरूसमेतमा जीवन थिङ मार्ग प्रयोग गरेर उनलाई स्थापित गर्नुपर्ने आह्वान गरे ।

नेपाली साहित्य परिषद् सिक्किमका महासचिव भीम राउतले सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्तीको छेकमा माटोलाई माया गर्ने सिक्किमे छोरोको मूर्ति स्थापना हुनु गौरवको विषय बताउँदै मूर्ति स्थापनाको पहल गर्ने अखिल सिक्किम तामाङ बौद्ध संघप्रति कृतज्ञता प्रकट गरे । उनले यस मार्गको नामाकरण पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीको कार्यकालमा भएको अनि वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङ नेतृत्त्वावधीन सरकारमा मूर्ति स्थापना भएको उल्लेख गर्दै दुवैप्रति कृतज्ञता प्रकट गरे । यसरी नै विगतमा जीवन थिङको मूर्ति स्थापना गर्न अनेकौँ प्रयास गर्ने पूर्वमन्त्री थुक्चुक लाचुङपालाई पनि सम्झना गर्दै उनको प्रयासले लेखक-पत्रकार समाजमा चेतना ल्याउने कार्य गरेको बताए । उनले आजको समारोहमा उपस्थित सबैप्रति कृतज्ञता प्रकट गरे । कार्यक्रमलाई कवि प्रमील थिङले सञ्चालन गरेका थिए ।

समारोहमा उप-मेयर सारा लामा, नेपाली साहित्य परिषद् सिक्किमका अध्यक्ष हरि ढुङ्गेल, सिक्किम अकादेमीका महासचिव पूर्ण योञ्जन, प्रशासनिक सचिव पीएल प्रधान, जीवन थिङका परिवारका सदस्यवर्ग, तामाङ बौद्ध संघका महासचिव अदीप तामाङ, सिक्किम सरकारका विशेष अधिकारी भवानी घिमिरे र विष्णु राणा, रचना बुक्सका प्रकाशक रमण श्रेष्ठ, लेखक, साहित्यकार एवम् पत्रकारको उपस्थिति रहेको थियो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।