नेपाली रक्तदाता संघ युएईको अध्यक्षमा शाह

सचिन्द्र श्रेष्ठ,युएई । नेपाली रक्तदाता संघ यूएईको दुबईमा आयोजित पहिलो ऐतिहासिक अधिवेशनबाट सर्वसम्मत रूपमा अध्यक्षमा गोपिनी शाह, उपाध्यक्षमा सुनिता कार्की र सचिवमा सचिन्द्र श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।

युएईमा रहेका नेपालीहरू रक्तदानजस्तो पुण्य कार्यमा एकजुट होऊन्, “रक्तदान जीवनदान” भन्ने सन्देशलाई व्यापक बनाइयोस् भन्ने उद्देश्यका साथ सन् २०२६ देखि २०२८ सम्मको कार्यकालका लागि पहिलो पटक अधिवेशन आयोजना गरिएको हो।

अधिवेशन सम्पन्न गर्न प्रवास नेपाली सम्पर्क विभाग युएईका सभापति तथा नेपाली रक्तदाता संघ यूएईका सल्लाहकार सुजन थापाको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो।

निर्वाचन समितिले युएईमा रहेका सम्पूर्ण क्रियाशील संघ–संस्था एवं समाजसेवीहरूसँग परामर्श गरी १५ सदस्यीय सर्वसम्मत कार्यसमिति चयन गर्दै अधिवेशन सम्पन्न भएको संयोजक थापाले जानकारी दिए।

यूएईमा सन् २०२० मा स्थापना भए पनि केही समय निष्क्रिय रहेको संस्थाले सन् २०२४ मा बासुदेव ढुंगानाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेपछि पुनः निरन्तरता पाएको थियो। रक्तदाता संघलाई आधिकारिक रूपमा अघि बढाउन तथा संस्थागत निरन्तरता दिन सहज हुने भएकाले यस वर्ष अधिवेशन सम्पन्न गरिएको अधिवेशनका पर्यवेक्षक, अन्तर्राष्ट्रिय रक्तदाता संघका कोषाध्यक्ष एवं नेपाली रक्तदाता संघ यूएईका संरक्षक सुनिल राज श्रेष्ठले बताए।

संस्थाले हालसम्म गरेका गतिविधिहरूको कार्यप्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन उपस्थित सम्पूर्ण साधारण सदस्यहरूले सर्वसम्मत रूपमा पारित गरेका थिए।

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका परिकल्पनाकार तथा संस्थापक अध्यक्ष स्वर्गीय अर्जुनप्रसाद मैनालीज्यूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। त्यसपछि कार्यक्रमका प्रमुख अतिथि नेपाली महावाणिज्य दूतावास दुबईका उपमहावाणिज्यदूत श्री कृष्णप्रसाद चापागाईंले दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गर्दै आफूले पनि नियमित रूपमा रक्तदान गर्दै आएको उल्लेख गरे। उनले प्रवासमा रहेका नेपालीहरूलाई एकजुट गरी मानवीय सेवामा समर्पित संस्थाको प्रशंसा गर्दै आगामी दिनमा पनि दूतावासबाट आवश्यक सहयोग रहने बताए।

कार्यक्रममा नेपाली समाज, गैरआवासीय नेपाली संघ, विभिन्न वैचारिक, जातीय, क्षेत्रीय तथा जिल्ला संस्थाका प्रतिनिधिहरूले समेत आ–आफ्नो धारणा राखेका थिए। साथै, रक्तदान सेवामा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई कदरपत्र तथा मायाको चिनो वितरण गरिएको थियो। अधिवेशनले वर्तमान कार्यसमिति विघटन गरी नयाँ कार्यसमिति घोषणा गर्दै पहिलो सत्रको कार्यक्रम समापन गरेको थियो।

कार्यक्रममा Dubai Health र Dubai Blood Donation Center का Blood Donation Campaign Coordinator Ms. Siji George तथा Mr. Christine K. Joseph ले संस्थाको निमन्त्रणा स्वीकार गर्दै सहभागिता जनाएका थिए। उनीहरूले विश्वमा प्रविधिले जति नै फड्को मारे पनि रक्तदानको विकल्प नरहेको उल्लेख गर्दै रक्तदानप्रति जनमानस स्वतःस्फूर्त रूपमा आकर्षित हुनुपर्ने धारणा व्यक्त गरे। साथै, नेपाली रक्तदाता संघ यूएईसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउँदै भविष्यमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

उक्त अधिवेशनबाट कोषाध्यक्षमा पंकज गिरी, सह–सचिवमा सानु शर्मा लगायत अन्य सबै पदाधिकारीहरू सर्वसम्मत रूपमा चयन भएका थिए। कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन प्रवासमा रहेर निष्पक्ष पत्रकारिता गर्दै आएका उमाकान्त पाण्डेले गरेका थिए।

“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ विशुद्ध समाजसेवाको उद्देश्यले नेपाली रक्तदाता संघ यूएईले पहिलो पटक १७ जुन २०२४ मा DHA सँग सहकार्य गर्दै रक्तदान कार्यक्रम आयोजना गरेको थियो। हालसम्म संस्थाले पाँचौँ पटकसम्म रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।