धनकुटामा अवैध काठ बोकेको ट्याक्टर सहित चालक पक्राउ
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–७ माथिल्लो आन्द्रुङबाट अवैध काठसहित एक ट्याक्टर र चालकलाई नियन्त्रणमा लिइएको छ।
प्रहरीका अनुसार जेठ २५ गते बिहान करिब ११ बजे महालक्ष्मी नगरपालिका–७ जितपुरका २९ वर्षीय विजय दर्जीले चलाएको प्रदेश १–०२–००३ त १७४४ नम्बरको ट्याक्टरमा साल र रुद्राक्ष जातका काठ अवैध रूपमा ओसारपसार भइरहेको अवस्थामा फेला परेको हो।
ट्याक्टरबाट साल जातको चिरान काठ ६० थान (६९.१९ क्युबिक फिट), सालको बाक्लो काठ १४ थान तथा रुद्राक्षको चिरान काठ १७ थान (८.६९ क्युबिक फिट) बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
बरामद काठ, ट्याक्टर तथा चालकलाई आवश्यक कानुनी कारबाहीका लागि जेठ २६ गते डिभिजन वन कार्यालय धनकुटा पठाइएको प्रहरीले जनाएको छ।


