नमस्ते झरनामा ट्रस पुल निर्माणका लागि सम्झौता, अषाढको पहिलो हप्तादेखि ठेक्का प्रक्रिया सुरु हुने
हिराराज राई, धनकुटा । नमस्ते झरना क्षेत्रमा ट्रस पुल निर्माणका लागि कोशी प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय, धनकुटा र साँगुरीगढी गाउँपालिकाबीच सम्झौता भएको छ।
सम्झौताअनुसार झण्डै ६३ लाख रुपैयाँको लागतमा ३२ मिटर लामो ट्रस पुल निर्माण गरिनेछ। पुल निर्माण भएपछि स्थानीय बासिन्दाको आवतजावत सहज हुनुका साथै त्यस क्षेत्रको सामाजिक तथा आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
पूर्वाधार विकास कार्यालय, धनकुटाका प्रमुखले यसै अषाढ महिनाको पहिलो हप्तादेखि निर्माण कार्यका लागि ठेक्का प्रक्रिया सुरु गरिने जानकारी दिनुभयो। ठेक्का प्रक्रिया सम्पन्न भएपछि निर्माण कार्य अगाडि बढाइने उहाँको भनाइ छ।
स्थानीयवासीले लामो समयदेखि माग गर्दै आएको उक्त पुल निर्माणको प्रक्रिया अघि बढेसँगै स्थानीयस्तरमा खुशी छाएको छ। पुल निर्माण सम्पन्न भएपछि वर्षायाममा पर्यटकहरूलाई आवतजावतमा हुने समस्या समाधान हुनुका साथै स्थानीय विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।



