धनकुटामा १५ प्रतिशत मात्रै धान रोपाइँ
धनकुटा । धनकुटामा हालसम्म कुल धान खेतीयोग्य क्षेत्रफलको १५ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाको कुल ४ हजार ९३८ दशमलव ८९ हेक्टर धान खेतीयोग्य जमिनमध्ये हालसम्म ६९१ हेक्टरमा मात्र रोपाइँ भएको हो।
कृषि ज्ञान केन्द्र धनकुटाका निमित्त प्रमुख नगेन्द्र रानाका अनुसार पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित भएको हो। जिल्लाका अधिकांश क्षेत्रमा आकाशे पानीकै भरमा खेती गर्नुपर्ने भएकाले पानी अभावले किसान समस्यामा परेका छन्।
विशेषगरी धनकुटाको तल्लो भू–भागका किसानले पर्याप्त वर्षा नहुँदा अझै रोपाइँ सुरु गर्न नसकेको जनाइएको छ।

