बेलायतमा सिसेक्पा तङ्नाम तथा वार्षिक भेटघाट कार्यक्रम सम्पन्न

लन्डन (बेलायत)। किरात याक्थुङ चुम्लुङ (केवाईसी) यूकेको आयोजनामा सिसेक्पा तङ्नाम तथा वार्षिक भेटघाट–२०२६ भव्य रूपमा सम्पन्न भएको छ।

जुलाई ११ मा आयोजित कार्यक्रममा संस्थाकी अध्यक्ष कमला सेन्दाङ लिम्बुको अध्यक्षता तथा अमेरिकाको मिशिगन विश्वविद्यालयमा प्राध्यापनरत डा. मारोहाङ खावाहाङको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगर, नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष (अवकाशप्राप्त मेजर) योगेश राई, एमएमसी क्याम्पस धरानका पूर्वप्रमुख चन्द्र फोम्बोलगायत विभिन्न जातीय, सामाजिक तथा सांस्कृतिक संस्थाका प्रतिनिधि, सञ्चारकर्मी र नेपालबाट बेलायत भ्रमणमा रहेका कलाकार दीपा सुहाङ, रुक्सना लिम्बु, राजेन्द्र केरुङ र लक्ष्मण लिम्बुको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई औपचारिक, सांस्कृतिक तथा सांगीतिक गरी तीन चरणमा सञ्चालन गरिएको थियो। औपचारिक सत्रमा आयोजक समितिका संयोजक तथा उपाध्यक्ष दिपेन्द्र याक्सोले स्वागत मन्तव्य राखेका थिए। सो अवसरमा संस्थाको विकासमा योगदान पुर्‍याउने व्यक्तित्व तथा उच्च शिक्षा हासिल गरेका सदस्यका परिवारका विद्यार्थीलाई सम्मान गरिएको थियो।

त्यसैगरी, यस वर्षको चुम्लुङ अवार्ड ग्रेटर लन्डन सिनियर शाखाका पूर्ण बोखिमलाई तथा यलम्बरहाङ अवार्ड वेस्ट केन्ट शाखाका राम लाबुङलाई प्रदान गर्ने घोषणा गरिएको आयोजकले जनाएको छ।

सांस्कृतिक चरणमा किरात याक्थुङ चुम्लुङ वेन्सा चुम्भोले सिसेक्पा तङ्नामसँग सम्बन्धित पारम्परिक विधि प्रस्तुत गरेको थियो। त्यसपछि हिङ तङ्सिङ येवाहरूले लिम्बु परम्पराअनुसार सामूहिक पूजा सम्पन्न गरेका थिए।

सांस्कृतिक विभागका संयोजक भक्तिहाङ आङ्देम्बेका अनुसार हिङ तङ्सिङ समाजको कल्याण, सुरक्षा र समृद्धिको कामनासहित गरिने सामूहिक धार्मिक विधि हो भने सी–तङ्सिङ दिवङ्गत आत्मालाई खेमालोकसम्म पुर्‍याउने धार्मिक संस्कार हो।

कार्यक्रममा लिम्बु समुदायको मौलिक च्याब्रुङ (केःलाङ) नृत्यसहित संस्थाका आठ शाखा समितिले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए।

तेस्रो चरणमा नेपालबाट बेलायत भ्रमणमा रहेका कलाकार दीपा सुहाङ, रुक्सना लिम्बु, राजेन्द्र केरुङ र लक्ष्मण लिम्बुले सांगीतिक प्रस्तुति दिएका थिए। सहभागीहरूले धान नाच प्रस्तुत गर्दै पर्वलाई उत्साहपूर्ण रूपमा मनाएका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. मारोहाङ खावाहाङले विश्वको जुनसुकै मुलुकमा रहे पनि आफ्नो भाषा, संस्कृति, परम्परा र पहिचानको संरक्षण गर्नुपर्नेमा जोड दिए।

समापनका क्रममा अध्यक्ष कमला सेन्दाङ लिम्बुले कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथि, कलाकार, स्वयंसेवक तथा सम्पूर्ण केवाईसी यूके परिवारप्रति आभार व्यक्त गरिन्। उनले सहअस्तित्व, आपसी सम्मान र सामाजिक सद्भावलाई संस्थाले सदैव प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै सामाजिक सञ्जालमा संवेदनशील विषयमा अभिव्यक्ति दिँदा जिम्मेवार र संयमित हुन सबैलाई आग्रह गरिन्।

आयोजकका अनुसार यस वर्षको सिसेक्पा तङ्नाम तथा वार्षिक भेटघाट कार्यक्रममा अघिल्ला वर्षहरूको तुलनामा उल्लेख्य सहभागिता रहेको थियो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।