कुवेतमा इरानी ड्रोन आक्रमणमा तेह्रथुमका सोमकुमार तामाङको मृत्यु
तेह्रथुम । इरानद्वारा कुवेतमा गरिएको ड्रोन आक्रमणमा परी तेह्रथुमका एक नेपाली युवाको मृत्यु भएको छ।
मृत्यु हुनेमा तेह्रथुम जिल्ला आठराई गाउँपालिका–६, चुहानडाँडा (हात्तिखर्क) निवासी सोमकुमार तामाङ रहेका छन्। वैदेशिक रोजगारीका लागि कुवेतमा रहेका तामाङको शुक्रबार बिहान आफ्नै कार्यस्थलमा भएको ड्रोन आक्रमणमा परी निधन भएको हो।
यस घटनापछि उनको गाउँ शोकमा डुबेको छ। आठराई गाउँपालिका–६ का वडाध्यक्ष कृष्ण बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सोमकुमार तामाङको निधनको पुष्टि गरेका छन्। उनले परिवारको पालनपोषणका लागि वैदेशिक रोजगारीमा गएका एक युवाको असामयिक निधनले समग्र गाउँ नै स्तब्ध बनेको उल्लेख गरेका छन्।
यसअघि कुवेतस्थित नेपाली राजदूतावासले पनि इरानी ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको पुष्टि गर्दै सोमकुमार तामाङको पहिचान सार्वजनिक गरेको थियो।


