यूएईमा ३२औँ विश्व आदिवासी दिवस भव्य रूपमा मनाइँदै
सचिन्द्र श्रेष्ठ,युएई । नेपाल आदिवासी जनजाति महासंघ, यूएई (NEFIN UAE) को आयोजनामा ३२औँ विश्व आदिवासी दिवस–२०२६ आगामी ९ अगस्ट २०२६ आइतबारका दिन दुबईस्थित CLUB SK7 मा भव्य रूपमा आयोजना हुने भएको छ। आयोजकका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ।
दिउँसो १२:०० बजे देखि सुरु हुने कार्यक्रममा यूएईभर रहेका विभिन्न आदिवासी जनजाती समुदाय, सामाजिक अभियन्ता, पत्रकार, बुद्धिजीवी, युवा तथा नेपाली समुदायको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। नेवार, गुरुङ्ग,तामाङ, राई, लिम्बू, मगर, शेर्पा, थारु लगायत विभिन्न समुदायले आफ्नो मौलिक संस्कृति, परम्परागत भेषभूषा, भाषा, लोकनृत्य तथा सांस्कृतिक झाँकी प्रस्तुत गर्नेछन्।
यस वर्ष YFIN UAE सह–आयोजक, FONIJ UAE आधिकारिक मिडिया पार्टनरका रूपमा कार्यक्रमसँग सहकार्य गर्नेछन्।
आयोजकले यो कार्यक्रम सांस्कृतिक उत्सव मात्र नभई आदिवासी जनजातिको पहिचान, भाषा, संस्कृति, परम्परा तथा अधिकार संरक्षण र प्रवर्द्धन गर्ने साझा अभियान भएको उल्लेख गर्दै यूएईमा रहेका सम्पूर्ण नेपाली दाजु भाई, दिदीबहिनीलाई परिवार सहित उपस्थित भई कार्यक्रमलाई भव्य र ऐतिहासिक बनाउन आ- आफनो जातीय पहिचान झल्किने भेषभुषा सहित उपस्थित हुन हार्दिक अनुरोध गरेको छ।


