तालिवानले प्रतिबन्ध गरेपनि बिदेशमा प्रशिक्षणमा ब्यस्त अफगानी महिला फुटबल टोली
काठमाडौं, २० साउन । चेन्जिङ रुममा फुटबल खेलाडीहरू खेल अघिको तयारीमा व्यस्त छन्। कोही स्ट्रेचिङ गर्दैछन् र आफ्ना बुटहरू कसिँदैछन् भने कोही एक अर्कालाई अँगालो हाल्दैछन्।
‘सधैँझैँ बलियो बन्नुहोस् किनभने हामी अफगान महिलाहरूको प्रतिनिधित्व गर्दैछौँ,’ मिडफिल्डर फातिमा हैदरीले अफगान वुमन युनाइटेडका आफ्ना सहकर्मीहरूलाई भन्छिन्।
अफगान झन्डा झुन्ड्याइएको र देशभक्ति पूर्ण गीत बजिरहेको उक्त कोठामा तालीको गडगडाहट गुन्जिन्छ। गीत गाउँदै गर्दा कतिपय महिलाहरू आफ्ना आँसु थाम्न संघर्ष गरिरहेका हुन्छन्।
यसअघि उनीहरूलाई अफगानिस्तान फुटबल महासंघको स्वीकृति आवश्यक पर्थ्यो। तर अगस्ट २०२१ मा सत्तामा फर्किएपछि तालिबानले महिला तथा किशोरीहरू माथि माध्यमिक विद्यालय, विश्वविद्यालय, अधिकांश पेसा व्यवसाय र संगठित खेलकुदमा समेत रोक लगाउने जस्ता व्यापक प्रतिबन्धहरू लागू गर्यो, जसका कारण यो सम्भव भएन।
सन् २००७ मा गठन भएको देशको राष्ट्रिय महिला टोलीले खेल्न छाड्यो र यसका सदस्यहरूलाई अस्ट्रेलिया, बेलायत र पोर्चुगल लगायतका देशहरूमा स्थानान्तरण तथा पुनर्वास गरियो।
वर्षौको अभियान पछि एउटा शरणार्थी टोलीको गठन भयो, जसको नाम ‘अफगान वुमन युनाइटेड’ राखियो। फिफाको निर्णयका कारण अब यो टोलीले ओलम्पिक र विश्वकपजस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा छनोट हुने प्रयास गर्न सक्छ।
न्युजिल्यान्डमा भेला भएको यो टोली सँगै खेल्न पाउँदा उत्साहित छ, विभिन्न देशमा शरणार्थीका रूपमा बसिरहेकाले विगत पाँच वर्षमा टोलीका रूपमा प्रशिक्षण लिन आवश्यक पर्ने यात्रा सम्बन्धी कागजातहरू मिलाउन उनीहरूका लागि निकै कठिन थियो।
खेल हुनुभन्दा एक दिनअघि अकल्यान्डको एउटा होटलमा बसिरहँदा छोटो कपाल भएकी मनोज नुरीले टी सर्ट र घुँडासम्म आउने हाफ पाइन्ट लगाएकी थिइन्, यस्तो पहिरनका कारण आफूलाई पुरुषजस्तो देखिएको भन्दै आफन्तहरूबाट प्रायः आलोचना खेप्नुपरेको उनी बताउँछिन्।
आफ्नो परिवारबारे ‘बीबीसी ग्लोबल वुमन’ सँग कुरा गर्दा २३ वर्षीया नुरीको आवाज भक्कानिन थाल्छ। उनी केही बेर रोकिन्छिन्, लामो सास फेर्छिन् र कुरा अघि बढाउनु अघि एकछिन अन्त कतै हेर्छिन्। आँखामा आँसु त छैन, तर उनको भावना स्पष्ट झल्किन्छ।
मैदानमा निस्कनु अघि प्रशिक्षकबाट हौसलापूर्ण शब्दहरू सुन्दै टोलीले अन्तिम पटक गोलबद्ध भएर छलफल गर्छ, त्यस्तो मैदान जहाँ उनीहरूको कुनै स्थान छैन भनेर वर्षौँसम्म उनीहरूलाई भनिएको थियो।
हाल विदेशमा बसोबास गरिरहेका अफगान खेलाडीहरूबाट छानिएको २३ सदस्यीय टोली प्रशिक्षण शिविरमा भाग लिन र ‘कुक आइल्यान्ड्स’ विरुद्ध दुईवटा अनौपचारिक मैत्रीपूर्ण खेल खेल्न न्युजिल्यान्ड पुगेको छ।
फुटबलको सर्वोच्च निकाय फिफाले भविष्यमा आधिकारिक खेलहरूमा उनीहरूले आफ्नो देशको प्रतिनिधित्व गर्न सक्ने निर्णय अप्रिलमा गरेयता उनीहरू पहिलो पटक एकसाथ भेला भएका हुन्।
बीवीसीवाट भावानुवाद


