बेलायतमा विश्वकीर्तिमानी हिमाल आरोही निर्मल पुर्जाको स्मृतिमा श्रद्धाञ्जली सभा
लण्डन । विश्वकीर्तिमानी हिमाल आरोही स्वर्गीय निर्मल पुर्जा (निम्स दाइ) को स्मृतिमा मगर संघ यूकेले बेलायतको फार्नबोरोस्थित मगर भवनमा श्रद्धाञ्जली तथा शोकसभा आयोजना गरेको छ।
शोकसभामा स्वर्गीय निर्मल पुर्जाका साइँला दाजु कमल पुर्जा मगर, मगर संघ यूकेका अध्यक्ष लालबहादुर पुन (लालु), कार्यसमितिका पदाधिकारी, संस्थापक तथा पूर्वअध्यक्ष, ट्रस्टी, सल्लाहकार तथा ठूलो संख्यामा सदस्यहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले स्वर्गीय निर्मल पुर्जाको तस्बिरमा माल्यार्पण तथा खादा अर्पण गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए।
श्रद्धाञ्जली मन्तव्यका क्रममा मगर संघ यूकेका संस्थापक अध्यक्ष थर्क राना मगर, पूर्वअध्यक्ष मेजर कुल थापा मगर, लेफ्टिनेन्ट सुनिल राना मगर तथा सल्लाहकार मेजर चित्र राना मगरले निर्मल पुर्जाको असामयिक निधनले नेपाली समुदाय र विश्व पर्वतारोहण क्षेत्रमा अपूरणीय क्षति पुगेको बताए।
उनीहरूले स्वर्गीय पुर्जाको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका थिए।
कार्यक्रममा परिवारका तर्फबाट बोल्दै कमल पुर्जा मगरले आफ्ना कान्छा भाइ निर्मल पुर्जाको स्मृतिमा शोकसभा आयोजना गरी सम्मान व्यक्त गरेकोमा मगर संघ यूकेप्रति आभार व्यक्त गरे।
मगर संघ यूकेका अध्यक्ष लालबहादुर पुन (लालु) को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव गोमन पुन मगरले गरेका थिए।
कार्यक्रममा सहभागीहरूले निर्मल पुर्जाले नेपालको पर्वतारोहण क्षेत्र तथा नेपालको अन्तर्राष्ट्रिय पहिचानका लागि पुर्याएको योगदानको स्मरण गरेका थिए। सहभागीहरूले उनको व्यक्तित्व, साहस र कृतित्व आगामी पुस्ताका लागि सधैं प्रेरणाको स्रोत रहने विश्वास व्यक्त गरे।

