ताप्लेजुङमा भानु माविका संस्थापक लप्टन हर्कजङ मादेनको जन्मजयन्ती सालिन्दा मनाइने
ताप्लेजुङ, भदौ १। ताप्लेजुङको फुङलिङ नगरपालिका–स्थित भानु जन माध्यमिक विद्यालय अम्बिटार र हर्कजङ स्मृति प्रतिष्ठानबीच कक्षा ११ मा उत्कृष्ट अंक ल्याउने एक जना विद्यार्थीलाई वार्षिक अक्षय कोष पुरस्कार प्रदान गर्ने सम्झौता भएको छ।
सम्झौताअनुसार उत्कृष्ट विद्यार्थीलाई हरेक वर्ष रु. ४१ हजारदेखि रु. ५१ हजारसम्म पुरस्कार प्रदान गरिनेछ। भानु जन माध्यमिक विद्यालयका संस्थापक अध्यक्ष लप्टन हर्कजङ मादेनको जन्म विक्रम संवत् १९५२ भदौ ३ गते भएकाले आगामी २०८४ साल भदौ ३ गतेदेखि प्रत्येक वर्ष उक्त दिन संस्थापकको जन्मजयन्ती मनाउँदै पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरिने भएको हो।
विद्यालयका अध्यक्ष युगराज गुरुङ, प्रधानाध्यापक किशोर राई तथा हर्कजङ स्मृति प्रतिष्ठानका अध्यक्ष चन्द्र मादेन आन्छन र कोषाध्यक्ष छत्र मादेनबीच यससम्बन्धी लिखित सम्झौता भएको छ।
यदि भदौ ३ गते सार्वजनिक बिदा परेमा वा अन्य कारणले सो दिन जन्मजयन्ती तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गर्न नसकिएमा सरस्वती पूजाको दिन पुरस्कार प्रदान गरिने सम्झौतामा उल्लेख छ।
प्रतिष्ठानका अध्यक्ष आन्छनका अनुसार पुरस्कारलाई स्थायी र निरन्तरता दिने उद्देश्यले रु. २१ लाखभन्दा बढी रकमको अचल कोष संयुक्त बैंक खातामा राखिएको छ।
भानु जन माध्यमिक विद्यालय ताप्लेजुङ जिल्लाकै उत्कृष्ट तथा सबैभन्दा धेरै विद्यार्थी अध्ययनरत सामुदायिक विद्यालयका रूपमा परिचित रहेको जनाइएको छ।
को हुन् लप्टन हर्कजङ मादेन?
सुब्बा पृथिध्वजका छोरा लप्टन हर्कजङ मादेनको जन्म विसं १९५२ भदौ ३ गते भएको थियो। सानैदेखि विभिन्न ज्ञाता तथा पण्डितहरूबाट शिक्षा र ज्ञान हासिल गरेका मादेन सामाजिक, सांस्कृतिक तथा परोपकारी कार्यमा सक्रिय व्यक्तित्वका रूपमा परिचित थिए।
राणा शासनको समयमै विसं २००६ मा भानु जन माध्यमिक विद्यालय स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका मादेन ताप्लेजुङका पहिलो न्यायाधीश तथा जिल्लाका प्रशासक (बडा हाकिम) समेत बनेका थिए।
प्रसिद्ध शक्तिपीठ पाथिभरा मुकुमलुङको स्थापना तथा विकासमा समेत उनको महत्वपूर्ण भूमिका रहेको बताइन्छ। धार्मिक आस्था, सभ्यता र संस्कृतिको संरक्षणसँगै विभिन्न जातजाति तथा समुदायबीच सामाजिक सद्भाव कायम गर्न उनले योगदान पुर्याएको स्मृति प्रतिष्ठानले जनाएको छ।
उनले निजी पहलमा धारा, कुटी, पाटी, पौवा, मठमन्दिर तथा बाटोघाटो निर्माणमा समेत योगदान दिएका थिए। तीमध्ये कतिपय संरचना अहिले पनि ताप्लेजुङ बजारदेखि पाथिभरासम्मका विभिन्न क्षेत्रमा देख्न सकिन्छ।
लप्टन हर्कजङ मादेनको निधन विसं २०२६ भदौ १३ गते भएको थियो। उनको योगदानको स्मरण र सम्मानमा अबदेखि हरेक वर्ष जन्मजयन्ती मनाउने तथा उत्कृष्ट विद्यार्थीलाई अक्षय कोष पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको हो।



