हवाई फायर गरी १४ किलो ७६० ग्राम अफिम सहित दुई जना पक्राउ
काठमाडौँ । लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले बाँकेमा हवाई फायर गरी १४ किलो ७६० ग्राम अफिमसहित दुई जनालाई पक्राउ गरेको छ।
लागूऔषध बिक्री–वितरण गर्ने गिरोहको निगरानी गर्ने क्रममा ब्यूरो शाखा कार्यालय नेपालगञ्ज र सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले भदौ १ गते बाँकेको कोहलपुर नगरपालिका–६ मा अफिम चोपको कारोबार भइरहेको अवस्थामा दुई जनालाई नियन्त्रणमा लिन खोजेको थियो।
प्रहरीका अनुसार उनीहरू पक्राउबाट उम्किन खोजेपछि रोक्न चेतावनीस्वरूप प्रहरीले एक राउन्ड हवाई फायर गरेको थियो। त्यसपछि दुवै जनालाई नियन्त्रणमा लिई उनीहरूको साथबाट १४ किलो ७६० ग्राम अफिम चोप बरामद गरिएको हो।
पक्राउ पर्नेमा रुकुम पूर्वको सिस्ने गाउँपालिका–१ का ४३ वर्षीय कर्णबहादुर बुढा र बाँकेको कोहलपुर नगरपालिका–६ का ६० वर्षीय टोपजङ गिरी रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट दुई थान मोबाइलसमेत बरामद गरेको छ। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेमा बुझाइएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

