तामाङ समाज यूएई अबुधाबीको शैक्षिक सहयोग; महाकाली जनज्योति विद्यालयलाई प्रोजेक्टर हस्तान्तरण
रामेछाप । तामाङ समाज यूएई अबुधाबीले रामेछापको खाँडादेवी गाउँपालिका–८, गागलस्थित महाकाली जनज्योति सामुदायिक विद्यालयलाई शैक्षिक प्रयोजनका लागि एक थान प्रोजेक्टर सहयोग स्वरूप प्रदान गरेको छ।
विद्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि स्थानीय जनप्रतिनिधि एवं वडा अध्यक्ष जंगलाल तामाङ तथा तामाङ समाज यूएई अबुधाबीका महासचिव जयराम वाइबाका अभिभावक विचारलाल तामाङले संयुक्त रूपमा प्रोजेक्टर विद्यालयलाई हस्तान्तरण गरेका हुन्।
प्रोजेक्टर हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विक्रम तामाङ, व्यवस्थापन समितिका अध्यक्ष विजय लामा लगायत शिक्षक, अभिभावक तथा विद्यालय परिवारको उपस्थिति रहेको थियो।
सहयोगका लागि तामाङ समाज यूएई अबुधाबीले विद्यालय परिवारप्रति आभार व्यक्त गरेको छ। संस्थाले यो सहयोग एउटा प्रोजेक्टर हस्तान्तरणमा मात्र सीमित नभई विद्यार्थीहरूको नयाँ सिकाइ यात्राको महत्वपूर्ण सुरुवात भएको जनाएको छ।
प्रोजेक्टरको प्रयोगबाट विद्यार्थीहरूको सीप विकास, सिर्जनात्मक क्षमता, खोज तथा अनुसन्धान, व्यावहारिक सिकाइ तथा डिजिटल ज्ञान अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने संस्थाको विश्वास छ। प्रविधिको प्रयोग मार्फत कक्षाकोठाको सिकाइलाई थप प्रभावकारी, रोचक र व्यवहारिक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
तामाङ समाज यूएई अबुधाबीले हरेक वर्ष आवश्यकताका आधारमा ग्रामीण तथा दुर्गम क्षेत्रका सामुदायिक विद्यालयलाई लक्षित गरी विभिन्न शैक्षिक सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
संस्थाले आर्थिक वर्ष २०८३/८४ लाई लक्षित गर्दै “शिक्षामा साथ, सुनौलो भविष्यको आधार” नामक शैक्षिक सहयोग परियोजनासमेत अघि बढाएको छ। परियोजनाको मुख्य उद्देश्य ग्रामीण क्षेत्रका विद्यार्थीहरूको सिकाइलाई थप प्रभावकारी, प्रविधिमैत्री र सिर्जनात्मक बनाउनु रहेको महासचिव जयराम वाइबाले बताए।
उनका अनुसार शिक्षामा प्रविधिको पहुँच विस्तार गर्दै विद्यार्थीलाई समयअनुकूल ज्ञान, सीप र अवसरसँग जोड्ने उद्देश्यले यस्ता सहयोग कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ।

