धनकुटामा नेपाली कांग्रेसको महाअधिवेशन प्रतिनिधि निर्वाचन हुँदै
नारायण कुमार राई/धनकुटा,१२ असोज। नेपाली कांग्रेस धनकुटाको १५औं जिल्ला अधिवेशन अन्तर्गत केन्द्र तथा प्रदेश प्रतिनिधिको निर्वाचन धनकुटाको सामुदायिक भवनमा जारी छ।
केन्द्रको ३३ प्रतिनिधिका लागि ५० जनाको उम्मेदवारी रहेको निर्वाचन अधिकृत रमेश दाहालले जानकारी दिनुभयो।
त्यस्तै प्रदेश प्रतिनिधिका लागि जिल्लाको निर्वाचन क्षेत्र नम्बर क बाट सभापति सहित २३ जनाको सर्वसम्मत भएको छ भने निर्वाचन क्षेत्र नम्बर ख बाट संयोजक र सचिव बाहेक २२ जना प्रतिनिधिको सर्वसम्मत चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ।
हिजो रातिबाट हुने भनिएको निर्वाचन केही विवादका कारण स्थगन भएपछि बिहान ८:३० बजेबाट ३:३० बजे सक्नेगरी पुनः सुचारु भएको हो।
धनकुटा नगरपालिकाको सामुदायिक भवनमा सम्पन्न भइरहेको निर्वाचनमा जिल्लाका ७ स्थानीय तहबाट १२२८ जना मतदाताको सहभागी रहेको निर्वाचन समितिले जानकारी दिएको छ।

