धनकुटामा रातिको सवारी सञ्चालनमा लगाइएको रोक हट्यो
धनकुटा । मौसममा सुधार आएपछि धनकुटा जिल्लाका मुख्य राजमार्ग तथा जोखिमयुक्त भित्री सडकमा रातिको समयमा सवारीसाधन सञ्चालनमा लगाइएको रोक हटाइएको छ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय धनकुटाले असोज ८ गतेदेखि ११ गतेसम्म रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो।
जिल्ला प्रशासन कार्यालय धनकुटाले असोज १२ गते सूचना जारी गर्दै मौसममा सुधार आएकाले सवारीसाधन पूर्ववत् रूपमा सञ्चालन गर्न सकिने जनाएको छ।
यससँगै धनकुटाका मुख्य राजमार्ग तथा जोखिमयुक्त भित्री सडकमा सवारीसाधन आवतजावतमा लगाइएको रातिको रोक हटेको हो।
जिल्ला प्रशासन कार्यालयले सम्बन्धित सबैलाई सवारीसाधन पूर्ववत् रूपमा सञ्चालन गर्न जानकारी गराएको छ।

