धनकुटाको पाख्रीबासमा गाईगोठ तथा पालिघरमा आगलागी, तीन लाख बराबरको क्षति
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–९ गैरिगाउँमा गाईगोठ तथा पालिघरमा आगलागी हुँदा करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ।
शुक्रबार बेलुकी करिब साढे ७ बजे स्थानीय चिनिमाया घिसिङको गाईगोठ तथा पालिघरमा अचानक आगलागी भएको हो। आगलागीबाट पालिघरमा रहेका गाईका बाछाबाछी जलेर घाइते भएका छन् भने घर निर्माणका लागि ल्याएर राखिएको काठसहित पालिघरमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको पाख्रीबास नगरपालिका–९ का वडा सदस्य पहलमान घिसिङले जानकारी दिनुभयो।
आगलागी भएको थाहा पाएपछि घरधनी, छिमेकी तथा स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो। करिब राति १० बजे आगो पूर्णरूपमा नियन्त्रणमा आएको वडा सदस्य घिसिङले बताउनुभयो।
प्रारम्भिक अनुमानअनुसार कुडो पकाउने चुलोबाट आगो सल्किएको हुनसक्ने आशंका गरिएको छ। आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने संकलन भइरहेको जनाइएको छ।



