आजदेखि तेस्रो पथरी-शनिश्चरे गोल्डकप, उद्घाटनमा पथरी-११ र युकेएफसी भारत भिड्दै

तेजन खड्का /दिपक बास्तोला

 मोरङ, १७ असाेज । मोरङको पथरीशनिश्चरेमा आज शनिबारदेखि तेस्रो पथरी–शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक पथरी–११ फुटबल क्लबले जनाएको छ।

पथरी रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पथरी–११ फुटबल क्लब र भारतको युकेएफसी आमनेसामने हुनेछन्। आठ टोलीको सहभागिता रहने प्रतियोगिताको ट्रफीसमेत पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिसकिएको छ।

क्लबका अध्यक्ष सुमन विकेका अनुसार प्रतियोगितामा नेपालका चर्चित क्लब तथा भारतको एक टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। सहभागी टोलीमा नेपाल पुलिस क्लब, थ्री स्टार क्लब ललितपुर, न्युरोड टिम ९एनआरटी०, सलहेस युथ क्लब सिरहा, झापा–११, रेड हर्स इलाम, युकेएफसी भारत र आयोजक पथरी–११ रहेका छन्।

प्रतियोगिताको खेल तालिका ९टाइसिट० समेत सार्वजनिक भइसकेको आयोजकले जनाएको छ। गत संस्करणको विजेता सलहेस युथ क्लब यसपटक पनि उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ।

आयोजकका अनुसार प्रतियोगितामा राष्ट्रियस्तरका खेलाडीहरूको सहभागिता रहनेछ। भारतबाट सहभागी हुने केही खेलाडीले आइ–लिगसमेत खेलेको आयोजकको दाबी छ। नेपाली फुटबलमा चर्चामा रहेका एरण थापासहित विभिन्न राष्ट्रियस्तरका खेलाडी प्रतियोगितामा सहभागी हुने अपेक्षा गरिएको छ।

विजेतालाई ६ लाख, उपविजेतालाई ३ लाख

प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख रुपैयाँ पाउनेछ। गत संस्करणको तुलनामा यसपटक उपाधि पुरस्कार रकम वृद्धि गरिएको आयोजकले जनाएको छ।

त्यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताले स्थानीयस्तरमा फुटबलको विकास, खेलाडीको प्रतिभा पहिचान र राष्ट्रियस्तरका खेलाडीलाई स्थानीय मैदानमा खेल्ने अवसर प्रदान गर्ने अपेक्षा आयोजकको छ।

दर्शकका लागि प्याराफिट थपियो

प्रतियोगितामा दर्शकको सुविधालाई ध्यान दिँदै यसपटक प्याराफिटको संख्या बढाइएको छ। गत संस्करणमा १७ वटा प्याराफिट रहेकोमा यसपटक २३ वटा निर्माण गरिएको आयोजकले जनाएको छ। आयोजकका अनुसार प्याराफिटमा बसेर एकैपटक करिब पाँचदेखि छ हजार दर्शकले खेल हेर्न सक्ने व्यवस्था मिलाइएको छ।

खेल हेर्न सर्वसाधारणका लागि एक सय रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ। मौसम अनुकूल रहे लिग चरणका खेलमा कम्तीमा तीन हजार दर्शक र फाइनलमा करिब १५ हजार दर्शक उपस्थित हुने आयोजकको अपेक्षा छ।

प्रतियोगिताको फाइनल असोज २४ गते हुनेछ। फाइनल खेलसम्म दर्शकको उल्लेख्य उपस्थिति रहने र प्रतियोगिताले पथरीशनिश्चरे क्षेत्रको खेलकुद गतिविधिलाई थप चलायमान बनाउने आयोजकको विश्वास छ।

खेलाडी उत्पादनमा पनि जोड

पथरी–११ फुटबल क्लबले गोल्डकपलाई प्रतियोगिता सञ्चालनमा मात्र सीमित नराखी स्थानीय खेलाडी उत्पादन गर्ने अभियानका रूपमा अघि बढाउने जनाएको छ। क्लबका अनुसार आफ्नै खेलाडी उत्पादन, नियमित प्रशिक्षण र फुटबलको विकासलाई प्राथमिकतामा राखिएको छ।

स्थानीयस्तरमा फुटबलप्रति युवाको आकर्षण बढाउन तथा नयाँ प्रतिभालाई प्रतिस्पर्धात्मक खेलको अवसर दिन प्रतियोगिताले सहयोग पुग्ने अपेक्षा गरिएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडीको सहभागिताले स्थानीय खेलाडीलाई सिक्ने र आफ्नो क्षमता देखाउने अवसरसमेत प्रदान गर्नेछ।

आठ टोलीबीच हुने प्रतिस्पर्धामा यसपटक उपाधि कसले जित्ला भन्ने चासो फुटबलप्रेमीमाझ बढेको छ। गत संस्करणको विजेता सलहेसले उपाधि जोगाउने प्रयास गर्दा आयोजक पथरी–११ सहित अन्य टोलीको लक्ष्य पनि उपाधि जित्ने हुनेछ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖