धनकुटाको पाख्रीबास स्थित अमर माविलाई पूर्वविद्यार्थी लोकबहादुर राईको करिब ५ लाख सहयोग
धनकुटा । पाख्रीबास नगरपालिका–६ फलाटेस्थित अमर माध्यमिक विद्यालयका पूर्वविद्यार्थी लोकबहादुर राईले विद्यालयलाई करिब ५ लाख रुपैयाँ बराबरको सहयोग गर्नुभएको छ।
विद्यालयमा प्रारम्भिक शिक्षादेखि कक्षा ७ सम्म अध्ययन गर्नुभएका राईले विद्यालयलाई दुई थान इन्टरएक्टिभ स्मार्ट बोर्ड र ई–हाजिरी प्रणालीका लागि उक्त सहयोग गर्नुभएको विद्यालयका प्रधानाध्यापक दिपेन्द्र राईले जानकारी दिनुभयो।
राई र उहाँकी जीवनसंगिनी प्रभाकुमारी राईले आफ्नो समुदायमा रहेका विद्यार्थीको शिक्षण सिकाइमा सहयोग पु¥याउने तथा शिक्षकहरूलाई प्रविधिमैत्री शिक्षणका लागि सहज बनाउने उद्देश्यले स्वेच्छाले सहयोग गरेको बताउनुभएको छ।
हाल परिवारसहित चितवनमा बस्दै आउनुभएका राई दम्पतीको सहयोगप्रति विद्यालय परिवार, अभिभावक तथा सरोकारवालाले खुशी व्यक्त गरेका छन्।
विद्यालयले सहयोगदातालाई अनुकूल समयमा सम्मान गर्ने कार्यक्रमसमेत तय गरेको जनाएको छ। प्रधानाध्यापक राईले प्राप्त सहयोगको उचित संरक्षण गर्दै दीर्घकालसम्म विद्यार्थीको हितमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

