पथरी गोल्डकप चलिरहँदा बढ्यो असन्तुष्टि, सम्मानदेखि निमन्त्रणासम्म प्रश्नैप्रश्न
काठमाडौं, १९ असोज । तेस्रो पथरीशनिश्चरे गोल्डकप चलिरहँदा पथरीशनिश्चरेका पूर्वराष्ट्रिय फुटबल खेलाडी दिपक राईको सम्मान र आयोजकको व्यवहारलाई लिएर नगरमा चर्चा सुरु भएको छ ।
आरसिटी, मच्छिन्द्र फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लब हुँदै नेपाली राष्ट्रिय टोलीबाट समेत खेलिसकेका राईलाई पथरीशनिश्चरेवासीले लामो समयदेखि नगरको खेलकुद क्षेत्रको ‘गहना’का रूपमा चिनाउँदै आएका छन् । तर गोल्डकपको पूर्वसन्ध्यामा उनले फेसबुकमा लेखेको ‘दिपक राई अनि पथरीशनिश्चरे गोल्डकपलाई हार्दिक थुक्क’ भन्ने स्टाटसले भने धेरैको ध्यान खिचेको थियो ।
उक्त स्टाटसको आशय बुझ्न राईसँग सम्पर्क गर्दा उनले यस विषयमा थप केही बताउन नचाहेको बताए । त्यसपछि उद्घाटनका दिन सार्वजनिक भएको एउटा भिडियोप्रति समेत राईले आफूलाई आयोजकबाट उचित सम्मान नभएको महसुस गरेको बुझिएको छ ।
नगरमा हुने खेलकुद प्रतियोगितामा विभिन्न अतिथि तथा व्यक्तिहरूलाई मञ्चमा आमन्त्रण गर्ने गरिएको भए पनि नगरकै चर्चित पूर्वराष्ट्रिय खेलाडी राईलाई उचित सम्मान र सहभागिता नदिइएको भन्दै केही खेलप्रेमी तथा नगरवासीले असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले नगरको फुटबल विकासमा महत्वपूर्ण योगदान दिएका खेलाडीलाई आयोजकले विशेष प्राथमिकता दिनुपर्ने बताएका छन् ।
त्यस्तै पथरीशनिश्चरेको खेलकुद तथा सामाजिक क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आएका पथरी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष धनकुमार तामाङ, सञ्जिव गिरी, दिपक पुलामीलगायतका ब्यक्तित्वहरु पनि गोल्डकपका खेलहरूमा अहिलेसम्म देखिएका छैनन् ।
उनीहरूलाई निमन्त्रणा नगरिएको वा गरेर पनि सहभागिता जनाउन नसकेको हो भन्ने विषयमा समेत नगरवासीले चासो राखेका छन् । यसबारेमा बुझ्न उल्लेखित सबै क्यक्तित्वसँग कोसिस गरिए पनि सञ्जिव गिरीबाहेक अन्यसँग सम्पर्क हुन सकेन । गिरीले भने औपचारिक रुपमा आफूलाई निमन्त्रणा नगरिएको बताए ।
तेस्रो संस्करणसम्म आइपुगेको पथरीशनिश्चरे गोल्डकपले यसअघि दुई संस्करणमा खेलप्रेमी, नगरवासी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य साथ पाएको थियो । पहिलो र दोस्रो संस्करणमा आयोजकले विभिन्न पक्षसँग अन्तरक्रिया तथा परामर्श गर्दै प्रतियोगिता सञ्चालन गरेको र दर्शक तथा सहयोगीहरूको साथका कारण प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको आयोजक पक्षले बताउँदै आएको थियो ।
तर यसपटकको प्रतियोगितामा केही विषयलाई लिएर आयोजक र नगरवासीबीच दूरी बढेको अनुभूति हुन थालेको खेलप्रेमीहरू बताउँछन् । गोल्डकपको उद्घाटन कार्यक्रममा आयोजक पथरी–११ फुटबल क्लबका अध्यक्ष सुमन विकले टाइटल स्पोन्सर नपाएको विषयमा समेत गुनासो गरेका थिए ।
यद्यपि, प्रतियोगिता सञ्चालनका क्रममा नगरवासी र खेलप्रेमीबाट अपेक्षित साथ प्राप्त भइरहेका बेला आयोजकले स्थानीय खेलाडी, खेलप्रेमी तथा खेलकुद क्षेत्रमा योगदान दिएका व्यक्तिहरूलाई पर्याप्त महत्व नदिएको भन्ने गुनासोसमेत सुनिन थालेको छ ।
तेस्रो संस्करणको प्रतियोगिता चलिरहँदा उठेका यस्ता प्रश्नले आगामी दिनमा पथरीशनिश्चरे गोल्डकपको निरन्तरता, आयोजक र नगरवासीबीचको सम्बन्ध तथा स्थानीय खेलकुद क्षेत्रका व्यक्तित्वलाई दिइने सम्मानबारे बहससमेत सुरु गराएको छ । केही नगरवासीले आगामी संस्करण पनि निरन्तर हुने विश्वास व्यक्त गरे पनि यसपटक देखिएका असन्तुष्टिले प्रतियोगिताको भविष्यबारे प्रश्न उठाएको बताएका छन् ।

