चार मुख्यमन्त्री सहितको बैठकमा प्रधानमन्त्रीले भने- विपद् व्यवस्थापन निरन्तर भइरहेको छ
काठमाडौं, १९ असोज ।प्रधानमन्त्री वालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयताको विपद् व्यवस्थापन निरन्तर भइरहेको बताएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा उनले सरकारले कुनै पनि किसिमको सम्झौता नगरी विपद् व्यवस्थापनमा निरन्तर खटिरहेको बताए ।
बैठकमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, बाग्मतीका मुख्यमन्त्री किरण थापामगर, मधेशका मुख्यमन्त्री कृष्ण यादव र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको सहभागिता थियो ।
‘हामीले उपलब्ध स्रोत साधन र जनशक्ति परिचालन गरी चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौँ, त्यसैले यस विषयलाई लिएर ढुक्क हुन आग्रह गर्दछु,’ प्रधानमन्त्री शाहले भने ।
उनले भोटेकोशी–त्रिशूली, गण्डकीसँगै अन्य क्षेत्रमा आएको बाढीपहिरोको क्षतिको समेत अध्ययनसहित त्यसको व्यवस्थापनमा सरकार जुटिरहेको बताए।
प्रधानमन्त्री शाहले विपद् जोखिम न्यूनीकरणका लागि सरकारले पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउन लागेको पनि उल्लेख गरे । साथै, सरकारले हिमपहिरोको जोखिम न्यूनीकरणका लागि पनि आवश्यक काम गरिहेको उनको भनाइ छ।

