दुर्घटनाले खोल्यो रहस्य, घाइते युवकको साथबाट पेस्तोल बरामद
रौतहट, १९ असोज । सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले पेस्तोल बरामद गरेको छ। दुर्घटनापछि घाइते अवस्थामा भेटिएका कविलासी नगरपालिका–३, मदनपुरका ३३ वर्षीय तुलसी ठाकुरको साथबाट प्रहरीले ‘सिक्सर’ पेस्तोल बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आईतवार राति करिब १ बजे जनकपुरबाट मदनपुरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ३० वाई २८५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो।
दुर्घटनामा मोटरसाइकल चालक ठाकुर घाइते भएका थिए। उनको दाहिने गाला र बायाँ हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
दुर्घटनाको सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले घाइते ठाकुरको खानतलासी गर्दा उनको साथबाट एक थान ‘सिक्सर’ पेस्तोल फेला पारेको थियो।
हतियार बरामद भएपछि प्रहरीले ठाकुरलाई नियन्त्रणमा लिएको छ। पेस्तोल कहाँबाट ल्याइएको हो, त्यसको उद्देश्य के थियो तथा उनी अन्य कुनै आपराधिक गतिविधिमा संलग्न थिए/थिएनन् भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

