अहंकार : आत्मविनाशको अदृश्य बीउ

तोमनाथ उप्रेती । मानव जीवन चेतना, विवेक र आत्मबोधको अनुपम उपहार हो। यही चेतनाले मानिसलाई अन्य प्राणीभन्दा विशिष्ट बनाएको छ। मानिससँग ज्ञान आर्जन गर्ने क्षमता छ, सत्य र असत्यबीच भेद गर्ने विवेक छ, आफ्ना कर्मको मूल्याङ्कन गर्ने आत्मचेतना छ र आफ्नो जीवनलाई नैतिक तथा मानवीय मूल्यअनुकूल सञ्चालन गर्ने सामर्थ्य पनि छ। तर मानिसभित्रै केही यस्ता प्रवृत्तिहरू पनि विद्यमान हुन्छन्, जसले उसको चेतना, विवेक र मानवीय संवेदनालाई क्रमशः कमजोर बनाउँदै लैजान्छन्। तीमध्ये अहंकार सबैभन्दा सूक्ष्म, शक्तिशाली र विनाशकारी प्रवृत्तिमध्ये एक हो।

अहंकारलाई सामान्य अर्थमा व्यक्तिको आफ्नै सामर्थ्य, ज्ञान, पद, सम्पत्ति वा उपलब्धिप्रति हुने अतिरञ्जित आत्मभावका रूपमा बुझ्न सकिन्छ। आत्मसम्मान र अहंकारबीचको भिन्नता यहीँ स्पष्ट हुन्छ। आत्मसम्मानले व्यक्तिलाई आफ्नो गरिमा र कर्तव्यप्रति सजग बनाउँछ भने अहंकारले उसलाई अरूभन्दा श्रेष्ठ देख्न प्रेरित गर्छ। स्वाभिमानले मानिसलाई उठ्न सिकाउँछ, तर अहंकारले अरूलाई होच्याएर आफू माथि देखिन खोज्छ। त्यसैले स्वाभिमान व्यक्तित्वको शक्ति हो भने अहंकार व्यक्तित्वको विकृति हो।

अहंकारको मूल केन्द्र म र मेरो भन्ने संकीर्ण चेतना हो। जब मानिसले मैले मात्र गरेँ, मेरो विचार मात्र सही छ, म बिना केही सम्भव छैन भन्ने मानसिकता विकास गर्छ, तब उसभित्र अहंकारको बीउ अंकुराउन थाल्छ। व्यक्तिको सफलता, क्षमता वा योगदान वास्तविक हुन सक्छ, तर त्यसलाई सम्पूर्ण सत्य ठानेर अरूको योगदानलाई अस्वीकार गर्नु अहंकारको प्रारम्भ हो। वास्तवमा कुनै पनि उपलब्धि एक व्यक्तिको प्रयासको मात्र परिणाम हुँदैन। परिवार, समाज, शिक्षा, अवसर, समय, सहकर्मी र परिस्थितिको योगदानले नै व्यक्तिको सफलताको जग निर्माण गरेको हुन्छ।

(तोमनाथ उप्रेती)

पूर्वीय दर्शनले मानव जीवनलाई परस्पर सम्बन्धित अस्तित्वका रूपमा हेर्छ। उपनिषद्को आत्मबोधको परम्पराले व्यक्तिलाई आफ्नो सीमित अहंभन्दा माथि उठेर व्यापक चेतनासँग सम्बन्ध स्थापित गर्न प्रेरित गर्छ। जब मानिसले आफूलाई सम्पूर्ण ब्रह्माण्डको केन्द्र ठान्न छोड्छ, तब उसभित्र विनम्रताको जन्म हुन्छ। यही कारणले पूर्वीय मनीषीहरूले आत्मज्ञानलाई अहंकारमुक्तिको आधार मानेका छन्।

भगवान् बुद्धको शिक्षामा लोभ, द्वेष र मोहलाई मानव दुःखका प्रमुख कारणका रूपमा व्याख्या गरिएको छ। मानिस आफ्नै इच्छा, आसक्ति र मिथ्या धारणाको बन्दी बन्दा उसको दृष्टि संकुचित हुन्छ। बुद्धको करुणा र मैत्रीको दर्शनले ‘म’ र ‘अरू’ बीचको कठोर विभाजनलाई कमजोर बनाउँछ। करुणा भएको हृदयमा अहंकार टिक्न कठिन हुन्छ, किनकि करुणाले अरूको पीडालाई पनि आफ्नो पीडा ठान्न सिकाउँछ। जहाँ आत्मकेन्द्रितता हुन्छ, त्यहाँ करुणा कमजोर हुन्छ; र जहाँ करुणा जागृत हुन्छ, त्यहाँ अहंकारको प्रभुत्व क्रमशः क्षीण हुँदै जान्छ।

पूर्वीय दर्शनका अनेक मनीषीहरूले पनि अहंकारलाई आत्मविकासको सबैभन्दा ठूलो अवरोधका रूपमा चित्रण गरेका छन्। महात्मा गान्धीले विनम्रतालाई सत्यको खोजीका लागि आवश्यक नैतिक आधारका रूपमा जीवनमा व्यवहार गरे। उनका लागि शक्ति भनेको अरूमाथि शासन गर्ने क्षमता मात्र थिएन, बरु आफूभित्रका कमजोरीमाथि विजय प्राप्त गर्ने सामर्थ्य पनि थियो। त्यस्तै स्वामी विवेकानन्दले मानिसभित्र रहेको असीम सम्भावनालाई जागृत गर्न आत्मविश्वास आवश्यक ठाने, तर आत्मविश्वासलाई अहंकारसँग कहिल्यै जोडेनन्। आत्मविश्वासले मानिसलाई आफ्नो कर्तव्यप्रति सक्षम बनाउँछ, तर अहंकारले उसलाई अरूप्रति असंवेदनशील बनाउँछ।

अहंकारका रूपहरू अनेक हुन्छन्। धनमा गर्व, पदमा अभिमान, शक्तिमा घमण्ड, ज्ञानमा दम्भ, सुन्दरतामा अहं, वंशमा अभिमान वा यशमा आत्ममुग्धता—यी सबै अहंकारका विभिन्न अभिव्यक्ति हुन्। बाहिरी रूप फरक भए पनि तिनको मूल भावना एउटै हुन्छ। यस्तो मानसिकताले मानिसलाई यथार्थबाट टाढा लैजान्छ। उसले आफ्नो कमजोरी देख्न छोड्छ, अरूको सुझावलाई अस्वीकार गर्छ र आलोचनालाई शत्रुताका रूपमा बुझ्न थाल्छ।

यही अवस्थाबाट विवेकको क्षय सुरु हुन्छ। विवेक भनेको सही र गलत, उचित र अनुचित, न्याय र अन्यायबीच भेद गर्ने आन्तरिक क्षमता हो। तर अहंकारले मानिसलाई आफ्नो निर्णयमाथि यति अन्धविश्वासी बनाउँछ कि उसले आफ्नो गल्ती स्वीकार गर्ने सामर्थ्य गुमाउन थाल्छ। गल्ती स्वीकार गर्न नसक्ने व्यक्ति सुधारको बाटोमा हिँड्न सक्दैन। आत्मसमीक्षा गर्न नसक्ने चेतना अन्ततः आत्मविनाशको दिशामा अग्रसर हुन्छ।मानव इतिहास र पौराणिक आख्यानहरूले पनि यही सत्यलाई विभिन्न रूपहरूमा प्रस्तुत गरेका छन्। रामायणमा रावण अत्यन्त विद्वान्, शक्तिशाली र तपस्वी पात्रका रूपमा चित्रित छन्। उनको ज्ञान, तपस्या र सामर्थ्य असाधारण थियो। तर ज्ञान र शक्तिले मात्र मानिसलाई महान् बनाउँदैनन्। ती शक्तिहरूलाई संयमित गर्ने विनम्रता र विवेक आवश्यक हुन्छ। रावणको पतनको मूल कारण ज्ञानको अभाव थिएन, सामर्थ्यको कमी पनि थिएन; समस्या उनको अहंकारमा थियो। शक्तिले जब विवेकलाई नियन्त्रण गर्छ, तब विनाशको सम्भावना बढ्छ।

महाभारतमा दुर्योधनको चरित्रले पनि यही मानवीय कमजोरीलाई उजागर गर्छ। शक्ति, राज्य र प्रतिष्ठाको मोहसँगै विकसित भएको अहंकारले उसलाई सत्य र न्यायको मार्गबाट टाढा पुर्‍यायो। उचित सल्लाह स्वीकार गर्न नसक्नु, संवादको सम्भावना समाप्त गर्नु र आफ्नो इच्छालाई नै सर्वोच्च सत्य ठान्नु अन्ततः विनाशकारी सिद्ध भयो। दुर्योधनको त्रासदी अहंकारले विवेकलाई कसरी पराजित गर्न सक्छ भन्ने नैतिक पाठ पनि हो।

हिरण्यकश्यप र शिशुपालजस्ता पौराणिक पात्रहरूको कथामा पनि शक्ति र अहंकारको सम्बन्ध स्पष्ट रूपमा देख्न सकिन्छ। जब शक्ति संयम, न्याय र नैतिकताबाट विच्छिन्न हुन्छ, तब त्यो शक्ति समाजका लागि भयको कारण बन्न सक्छ। शक्ति स्वयंमा न राम्रो हुन्छ न नराम्रो; त्यसको प्रयोग गर्ने चेतनाले त्यसको मूल्य निर्धारण गर्छ। विनम्र चेतनामा शक्ति सेवा बन्छ, तर अहंकारी चेतनामा शक्ति दमनको साधन बन्न सक्छ।

अहंकारलाई अदृश्य आगोसँग तुलना गर्न सकिन्छ। बाहिरबाट हेर्दा व्यक्ति सफल, प्रभावशाली र शक्तिशाली देखिन सक्छ, तर भित्रभित्रै उसको संवेदनशीलता, आत्मबोध र नैतिक चेतना क्षय हुँदै जान सक्छ। अहंकारको आगोले सर्वप्रथम सम्बन्धलाई जलाउँछ। अहंकारी मानिस अरूको सम्मान गर्न कठिन मान्छ, सहकार्यलाई कमजोरी ठान्छ र आलोचनालाई अपमानका रूपमा बुझ्छ। परिणामतः ऊ क्रमशः एक्लिँदै जान्छ। मानिसको वरिपरि प्रशंसा गर्नेहरू त हुन सक्छन्, तर सत्य बोल्ने मानिसहरू टाढिँदै जान्छन्। यही अवस्था व्यक्तिको बौद्धिक र नैतिक पतनको प्रारम्भ हुन सक्छ।

कन्फ्युसियसको नैतिक दर्शनले विनम्रता, अनुशासन र सम्बन्धको मर्यादालाई महत्त्व दिन्छ। उनका विचारमा नैतिक जीवन व्यवहारमा मानवीयता र उचित आचरणको अभ्यास हो। त्यसैले ज्ञानको वास्तविक मूल्य त्यसबेला मात्र हुन्छ, जब त्यसले मानिसलाई विनम्र, न्यायशील र उत्तरदायी बनाउँछ। ज्ञान बढ्दै जाँदा विनम्रता पनि बढ्नुपर्छ; यदि ज्ञानसँगै दम्भ बढ्छ भने त्यो ज्ञान पूर्ण अर्थमा प्रज्ञा बन्न सक्दैन।

अहंकारको एउटा जटिल पक्ष के हो भने मानिसले धेरैपटक आफ्नो अहंकारलाई चिन्न सक्दैन। उसले आफ्नो हठलाई दृढता, आफ्नो क्रोधलाई स्वाभिमान, आफ्नो दम्भलाई आत्मविश्वास र आफ्नो स्वार्थलाई अधिकारका रूपमा व्याख्या गर्न सक्छ। यही आत्मभ्रम अहंकारलाई अझ शक्तिशाली बनाउने माध्यम हो। मानिसले आफ्नो व्यवहारको औचित्य प्रमाणित गर्न निरन्तर तर्क खोज्न थाल्छ। तर आत्मसमीक्षाविहीन तर्कले सत्यको खोजी गर्दैन, उसले अहंकारको रक्षा मात्र गर्छ। त्यसैले अहंकारबाट मुक्त हुने पहिलो चरण आत्मनिरीक्षण हो। मानिसले समयसमयमा के म अरूको कुरा सुन्न सक्छु? के म आफ्नो गल्ती स्वीकार गर्न सक्छु? के म आलोचनाबाट सिक्न तयार छु? के म आफ्ना उपलब्धिलाई केवल आफ्नो प्रयासको परिणाम ठान्छु? आफैंसँग प्रश्न गर्नुपर्छ।यस्ता प्रश्नहरूले व्यक्तिलाई आफ्नो भित्री संसारसँग संवाद गर्न प्रेरित गर्छन्।

आत्मबोध अहंकारको सबैभन्दा प्रभावकारी औषधि हो। जब व्यक्तिले आफ्नो कमजोरी, सीमितता र मानवीय अपूर्णतालाई स्वीकार गर्छ, तब ऊ विनम्र बन्न थाल्छ। चरित्रकेन्द्रित अहंकार भएको व्यक्तिले आफ्नो कमजोरीप्रति इमानदार आत्मबोध गर्न सकेमा सुधारको सम्भावना खुल्छ। धन र भोगकेन्द्रित अहंकारमा फसेको मानिसले आफ्नो अतृप्त लालसालाई चिन्न सकेमा संयम र उदारताको अभ्यास गर्न सक्छ। शक्ति र पदको अहंकारमा डुबेको व्यक्तिले आफ्ना निर्णयले अरूलाई कति प्रभाव पारिरहेको छ भन्ने अनुभूति गर्न सकेमा उत्तरदायित्वको भावना जागृत हुन्छ।यसैगरी बुद्धि र विचारको अहंकार पनि अत्यन्त सूक्ष्म हुन्छ। आफू मात्र बुद्धिमान्, आफ्नो विचार मात्र वैज्ञानिक वा सही र अरूको दृष्टिकोण निरर्थक ठान्ने प्रवृत्तिले संवादको ढोका बन्द गर्छ। ज्ञानको साँचो विशेषता सबै उत्तर जान्नु होइन; आफूलाई सबै कुरा थाहा छैन भन्ने स्वीकार गर्न सक्नु पनि ज्ञानकै उच्च अवस्था हो। यही विनम्र बौद्धिकता लोकतान्त्रिक र सभ्य समाजको आधार हो।

सार्वजनिक जीवनमा अहंकार झन् बढी जोखिमपूर्ण हुन सक्छ। पद र शक्तिमा रहेका व्यक्तिहरूको एउटा निर्णयले धेरै मानिसको जीवनलाई प्रभावित गर्न सक्छ। त्यसैले सार्वजनिक पदलाई व्यक्तिगत प्रतिष्ठाको माध्यमभन्दा बढी जनविश्वास र उत्तरदायित्वको दायित्वका रूपमा बुझ्न आवश्यक छ। प्रशंसा र चाकरीले मानिसलाई यथार्थबाट टाढा लैजान सक्छ। आलोचना सुन्न नसक्ने नेतृत्व अन्ततः गलत निर्णयको जोखिममा पर्न सक्छ। लोकतान्त्रिक संस्कृतिमा असहमति शत्रुता होइन; सुधारको अवसर हो।

अहंकारलाई निष्क्रिय पार्न प्रेम, मैत्री र करुणाको अभ्यास आवश्यक छ। मैत्रीले मानिसलाई अरूको सुखमा प्रसन्न हुन सिकाउँछ। करुणाले अरूको दुःखप्रति संवेदनशील बनाउँछ। क्षमाले प्रतिशोधको चक्र तोड्छ। सहिष्णुताले फरक विचारलाई सम्मान गर्न सिकाउँछ। यी गुणहरू पारिवारिक, सामाजिक र सार्वजनिक जीवनलाई सभ्य बनाउने आधार पनि हुन्।
मानिसलाई झुक्न जान्नु कमजोरी होइन। आवश्यक स्थानमा झुक्न सक्ने मानिस वास्तवमा भित्रबाट बलियो हुन्छ। क्षमा गर्न सक्ने व्यक्ति कमजोर हुँदैन। ऊ आफ्नो क्रोधमाथि नियन्त्रण गर्न सक्ने व्यक्ति हुन्छ। आफ्नो गल्ती स्वीकार गर्न सक्ने मानिसको गरिमा घट्दैन बरु उसको नैतिक उचाइ बढ्छ। विनम्रता व्यक्तित्वलाई सानो बनाउने होइन, उसको चेतनालाई विशाल बनाउने गुण हो।

जीवनमा काम, क्रोध, लोभ, मोह र अहंकारजस्ता प्रवृत्तिहरू मानवीय स्वभावसँग जोडिएका छन्। यिनको अस्तित्व मात्र विकार होइन; तर यिनले विवेकमाथि नियन्त्रण गर्न थालेपछि समस्या उत्पन्न हुन्छ। इच्छा आवश्यकतामा सीमित रहँदा जीवनलाई गतिशील बनाउँछ, तर अतृप्त लोभ बनेपछि दुःखको कारण हुन्छ। प्रेम मानवीय सम्बन्धको आधार हो, तर अन्धमोह बनेपछि व्यक्तिलाई कमजोर बनाउन सक्छ। त्यस्तै आत्मविश्वास आवश्यक छ, तर सीमा नाघेर अहंकार बनेपछि विनाशकारी हुन सक्छ।

मानव जीवनको वास्तविक उन्नति अरूमाथि विजय प्राप्त गर्नुमा होइन, आफ्नै अहंकारमाथि विजय प्राप्त गर्नुमा छ। आत्मचिन्तन, विनम्रता, करुणा, सहिष्णुता, क्षमाशीलता र उत्तरदायित्वको अभ्यासमार्फत मानिसले आफ्नो चेतनालाई परिष्कृत गर्न सक्छ। त्यसैले जीवनको सबैभन्दा ठूलो विजय बाह्य संसारमाथिको विजय होइन,आफ्नै अहंकारमाथिको विजय हो। विनम्रतामा मानिसको वास्तविक महानता छ, करुणामा उसको वास्तविक शक्ति छ र विवेकमा उसको वास्तविक प्रकाश छ। जहाँ अहंकार समाप्त हुन्छ, त्यहाँ आत्मबोधको सुरुआत हुन्छ। जहाँ विवेक जागृत हुन्छ, त्यहाँ विनाशको होइन, निर्माण र मानवताको यात्रा प्रारम्भ हुन्छ।
(उप्रेती नेपाल सरकारका उपसचिव हुन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖