रास्वपाको ‘हामी आउँदै छौँ’ अभियान धनकुटाको पाख्रीबासमा सम्पन्न
धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको ‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत धनकुटाको पाख्रीबास नगरपालिकामा कार्यक्रम सम्पन्न भएको छ।
रास्वपाले सांसद तथा केन्द्रीय सदस्यहरूलाई केन्द्रित गर्दै असोज २० गतेदेखि सुरु गरेको अभियानअन्तर्गत पाख्रीबासमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा रास्वपाका सांसदद्वय सिर्जना श्रेष्ठ र विश्वराज पोखरेलको उपस्थिति रहेको थियो।
संगठन विस्तार तथा जनतासँगको पहुँचलाई थप सुदृढ बनाउने उद्देश्यले देशव्यापी रूपमा सञ्चालन गरिएको अभियानअन्तर्गत पाख्रीबासमा स्थानीय तह निर्वाचन केन्द्रित विषयमा छलफल तथा सहजीकरण गरिएको थियो।
कार्यक्रममा आगामी स्थानीय तह निर्वाचन, ‘क्यान्डिडेट क्लब’ तथा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियाबारे सहभागीलाई जानकारी गराइएको थियो।
कार्यक्रममा रास्वपा पाख्रीबास नगर सभापति विष्णु विक्रम निरौलासहित नगर पदाधिकारी, वडा तथा टोल प्रतिनिधि र स्थानीयको सहभागिता रहेको थियो।

