धनकुटामा सडक दुर्घटना उद्धार सम्बन्धी अभ्यास सम्पन्न
धनकुटा । विपद् जोखिम न्यूनीकरण तथा सडक दुर्घटनापछिको उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले धनकुटामा सडक दुर्घटना तथा उद्धारसम्बन्धी कृत्रिम अभ्यास (सिमुलेसन) सम्पन्न भएको छ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको संयोजकत्व तथा जिल्ला समन्वय समितिका प्रमुखको प्रमुख आतिथ्यतामा अभ्यास सम्पन्न भएको हो।
जिल्ला सुरक्षा समितिको आयोजनामा तथा जिल्लास्थित सुरक्षा निकायहरूको समन्वयमा सञ्चालित कार्यक्रममा सुरक्षा निकाय, सरकारी कार्यालय, धनकुटा नगरपालिका, उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी, नेपाल पत्रकार महासंघ, नागरिक समाज र यातायात व्यवसायीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
अभ्यासले सडक दुर्घटनाका बेला उद्धार तथा विपद् व्यवस्थापनमा सम्बन्धित निकायबीचको समन्वय र तयारीलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

