धनकुटाको महालक्ष्मीमा विद्युत् सर्ट भई आगलागी, ५ लाखको क्षति
धनकुटा,२७ असोज । धनकुटाको महालक्ष्मी नगरपालिका–४ चनुवामा विद्युत् सर्ट भई आगलागी हुँदा एक घरसहित घरभित्र रहेका सामान जलेर नष्ट भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार आज बिहान ९ः१० बजे योगेश अधिकारीको टिनको छानो र काठपात तथा टिनको बेराले बनेको एकतले घरमा आगलागी भएको हो ।
आगलागीको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी चानुवाबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।
आगलागीबाट घर, घरभित्र रहेका लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न तथा सोही घरमा सञ्चालित कस्मेटिक पसलका विभिन्न सामान पूर्ण रूपमा जलेर नष्ट भएका छन् । घटनाबाट करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट कुनै मानवीय तथा चौपाया क्षति नभएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


