झापा, सुनसरी र उदयपुरबाट लागूऔषध सहित ९ जना पक्राउ
विराटनगर । झापा, सुनसरी र उदयपुरका विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित नौ जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार सुनसरीको इटहरीमा सिटी रिक्सा र मोटरसाइकल जाँच गर्ने क्रममा तीन जना पक्राउ परेका छन्। उनीहरूको साथबाट ट्रामाडोल ६ हजार ९८० क्याप्सुल, स्पास्मो ७ हजार क्याप्सुल र हाइड्रोब्रोमाइन दुई बोतल बरामद भएको छ।
त्यस्तै, सुनसरीकै इनरुवा क्षेत्रबाट तीन जनालाई ३ ग्राम ३० मिलिग्राम ब्राउन सुगरसहित र भरौलबाट एक जनालाई ११० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यसैगरी, उदयपुरको बेलटारबाट एक जनालाई स्पास्मो २८८ क्याप्सुल र निट्राजेपाम ३०० ट्याब्लेटसहित पक्राउ गरिएको छ। झापाको अनारमनीबाट अर्का एक जनालाई ३ ग्राम १ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका नौ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


