धनकुटाको सांगुरीगढी स्थित आहाले राईटोलमा ढकमक्क पहेँलो फुलेको फिलुङ्गे तेल
हिराराज राई, धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. ९ आहाले राईटोल यतिबेला पहेँलो फुलेका फिलुङ्गे तेलका फूलले ढकमक्क बनेको छ।
फिलुङ्गे तेल पुर्वी नेपालको पहाडी क्षेत्रमा परम्परागत रूपमा लगाइने महत्वपूर्ण तेलहन बाली हो। यसको बीउबाट गुणस्तरीय खाने तेल उत्पादन गरिन्छ भने पिसेर छोप अचार, पशु आहार तथा तेल निकालेपछि बाँकी रहने पिना जैविक मलका रूपमा समेत प्रयोग गरिन्छ। यसमा असन्तृप्त बोसो (Unsaturated Fat) प्रशस्त पाइने भएकाले यसको तेल स्वास्थ्यका दृष्टिले पनि उपयोगी मानिन्छ।
कम लागतमा खेती गर्न सकिने र कम उर्वर जमिनमा पनि राम्रो उत्पादन हुने भएकाले फिलुङ्गे तेल किसानका लागि आम्दानीको भरपर्दो विकल्प बन्दै गएको छ। यसको फूल मौरीका लागि उत्कृष्ट चरन क्षेत्र भएकाले मह उत्पादनमा समेत महत्वपूर्ण योगदान पुर्याउँछ। यसरी फिलुङ्गे तेलको खेतीले कृषि, वातावरण संरक्षण र जैविक विविधताको प्रवर्द्धनमा समेत टेवा पुर्याउने विज्ञहरू बताउँछन्।
फिलुङ्गे तेलको खेती आहाले राईटोलमा मात्र नभई आसपासका क्षेत्रमा समेत परम्परागत रूपमा गरिँदै आएको छ।



