सुनसरीमा १० हजारभन्दा बढी लागूऔषध क्याप्सुल र ट्याब्लेट सहित तीन जना पक्राउ
सुनसरी । सुनसरीको इटहरीमा लागूऔषध क्याप्सुल र ट्याब्लेटसहित तीन जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी उपमहानगरपालिका–८ गैसारस्थित अभिषेक चौधरीको डेरा कोठामा लागूऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले खानतलासी गरेको थियो।
मंगलबार राति करिब ९ बजे इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले कोठामा लुकाइछिपाइ राखिएको ट्रामोल (Tramol) ५ हजार २ सय ७० क्याप्सुल र डाइसाइक्लोमिन (Dicyclomine) ५ हजार ५ सय १० ट्याब्लेट बरामद गरेको हो।
प्रहरीले उक्त कारोबारमा संलग्न रहेको आरोपमा इटहरी–८ का १८ वर्षीय अभिषेक चौधरी, १८ वर्षीय युगल सुन्दास र १५ वर्षीय रोहित चौधरीलाई नियन्त्रणमा लिएको जनाएको छ।
उनीहरूलाई बरामद लागूऔषधसहित इलाका प्रहरी कार्यालय इटहरीमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद लागूऔषधको कुल परिमाण १० हजार ७ सय ८० क्याप्सुल तथा ट्याब्लेट रहेको छ। पक्राउ परेकामध्ये एक जना नाबालक रहेकाले उनको हकमा प्रचलित कानुनअनुसार प्रक्रिया अघि बढ्नेछ।


