सुनसरीको धरानमा २०९ किलो गाँजा सहित दुई स्कार्पियो र ५ जना पक्राउ
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले २०९ किलोभन्दा बढी गाँजासहित दुईवटा स्कार्पियो गाडी र पाँच जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार विशेष सूचनाका आधारमा आइतबार बिहान करिब ३ बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले गाँजा लोड गरिरहेको अवस्थामा दुईवटा स्कार्पियो फेला पारेको थियो।
प्रहरीलाई देखेपछि गाँजा बोकेर भाग्न खोज्ने क्रममा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको थियो। त्यसपछि प्रहरीले २०९ किलो ४२० ग्राम गाँजाजस्तो देखिने पदार्थ, बा.१ च. ५०३८ र को.१ च. ८१८२ नम्बरका दुई स्कार्पियोसहित पाँच जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सप्तरीका रामसागर कुमार यादव, राजेन्द्रप्रसाद मण्डल, राजकुमार साह, भारतको बिहार मधुबनीका सन्तोष ठाकुर र धरान–११ का अमृत विशङ्खे रहेका छन्।
पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।


