चाडपर्व मर्यादित र सुरक्षित रूपमा मनाउन धनकुटा प्रशासनको आग्रह, राति १० बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाइने
धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले नेपालीहरूको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व शुभदीपावली, छठ र नेपाल संवत् लगायतका अवसरमा जिल्लावासीलाई चाडपर्व मर्यादित, अनुशासित र सुरक्षित रूपमा मनाउन आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कात्तिक २० गते सार्वजनिक गरेको अनुरोधपत्रमार्फत जिल्लावासीलाई चाडपर्वका बेला शान्ति सुरक्षा, सामाजिक सद्भाव र आपसी एकता कायम राख्न अपिल गरेकी हुन् ।
प्रशासनले चाडपर्वका नाममा आतिसबाजी, पटाका, भुइँचम्पा, रकेट, बमलगायत विस्फोटक तथा आगलागी हुने पदार्थको खरिद, बिक्री, ढुवानी र प्रयोग नगर्न आग्रह गरेको छ । त्यस्तै दियो, मैनबत्ती तथा विद्युतीय बत्ती प्रयोग गर्दा आगलागी र दुर्घटनाबाट बच्न सावधानी अपनाउन पनि अनुरोध गरिएको छ ।
प्रशासनले देउसी–भैलो लगायतका सांस्कृतिक कार्यक्रम बेलुकी अधिकतम राति १० बजेसम्म मात्र सञ्चालन गर्न आग्रह गरेको छ । यस्ता कार्यक्रम सञ्चालन गर्दा मौलिक संस्कृतिको संरक्षण हुने गरी मर्यादित, अनुशासित र व्यवस्थित बनाउन तथा गीत–संगीत र ध्वनि उपकरणको आवाजलाई मर्यादित राख्न भनिएको छ ।
त्यस्तै चाडपर्वको बहानामा जबरजस्ती चन्दा माग्ने, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झैझगडा तथा हुलदंगा गर्ने कार्य नगर्न प्रशासनले सचेत गराएको छ ।
अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, मूल्यवृद्धि गर्ने तथा म्याद गुज्रिएका वस्तु बिक्री वितरण नगर्न पनि आग्रह गरिएको छ ।
सवारी साधनमा क्षमताभन्दा बढी यात्रु नबोक्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, तोकिएकोभन्दा बढी भाडा नलिन र ट्राफिक नियम पालना गर्न प्रशासनले अनुरोध गरेको छ ।
यसैगरी धार्मिक, जातीय तथा सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न, गैरकानुनी जुवातास, चिठ्ठा तथा अनलाइन कारोबारका नाममा हुने ठगी नियन्त्रणमा सहयोग गर्न र सार्वजनिक स्थलमा भीडभाड तथा होहल्ला नगरी सभ्य तरिकाले पर्व मनाउन आग्रह गरिएको छ ।
चाडपर्वका समयमा स्वास्थ्य, आपूर्ति तथा अन्य आपतकालीन सेवा सञ्चालनमा राख्न र एम्बुलेन्स, स्वास्थ्यकर्मी, स्काभेटर, क्रेन, सवारी साधन तथा आवश्यक जनशक्ति तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई समेत अनुरोध गरिएको छ ।
प्रशासनले नियमविपरीतका गतिविधि भएको पाइएमा सुरक्षा निकायको फोन नम्बर १०० वा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (DEOC) को १२३४ नम्बरमा जानकारी गराउन आग्रह गरेको छ । अनुरोधविपरीतका कार्य गरे वा गराएमा प्रचलित कानुनबमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।


