५ मधेसकेन्द्रित दलबीच पार्टी एकता, बन्यो ‘राष्ट्रिय जनता पार्टी’, अहिले महन्थ ठाकुरले नेतृत्व गर्ने
काठमाडौं, वैशाख ७ । मधेसकेन्द्रित पाँच राजनीतिक दलबीच बिहीबार पार्टी एकता भएको छ । तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराई मधेस सद्भावना पार्टी नेपाल र मधेसी जनअधिकार फोरम गणतान्त्रिकबीच एकता भएको हो ।

पार्टी एकीकरणसँगै पार्टीको नाम ‘राष्ट्रिय जनता पार्टी’ राखिएको छ । पार्टी सन्चालनका लागि अध्यक्षमन्डल बनाइएको छ भने अध्यक्षमन्डलको नेतृत्व पालैपालो गर्ने जनाइएको छ । अहिले भने महन्थ ठाकुरले अध्यक्षमन्डलको नेतृत्व गर्नेछन् ।
पार्टी एकता घोषणाकाक्रममा अध्यक्ष ठाकुरले नवनिर्मित पार्टीले हिमाल, पहाड, तराई र मधेसका उत्पीडित जनताको प्रतिनिधित्व गर्ने दाबी गरे । नवगठित पार्टीका नेताहरु राजेन्द्र महत्तो, शरत्सिंह भण्डारी, राजकिशोर यादव र महेन्द्र यादवले नेपाली जनताको अपेक्षा पूरा भएको तर्क गरेका छन् ।
एकीकृत पार्टीको झन्डा र चुनाव चिह्न पनि सार्वजनिक गरिएको छ । जसअनुसार चुनाव चिह्न छाता रहने र रातो, सेतो र हरियो रङ मिश्रित झन्ड रहने जनाइएको छ ।


