अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकप्टरको लागि छुट्टै टर्मिनल बन्ने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलीकप्टरको लागि छुट्टै टर्मिनल भवन बन्ने भएको छ। हाल आन्तरिक टर्मिनल भवनबाटै हेलीप्याडमा पुगिने व्यवस्था रहेकोमा त्यसलाई छुट्याएर हेलीकप्टरको लागि अलग्गै भवन बनाउने नागरिक उड्डयन प्राधिकरणले बताएको छ।
आन्तरिक उडानको चाप बढेकोले हाल विमानहरुलाई पार्किङ र मर्मतसम्भार गर्ने ठाउँसमेत नपुगेपछि विमानस्थल प्रशासनले अलग्गै हेलीकप्टर टर्मिनल र हेलीप्याड बनाउने प्रस्ताव अगाडि बढाएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए।
विमानस्थलको पूर्वपट्टी हेलीप्याड बनाउने र पेप्सीकोला साइटबाट इन्ट्री तथा एक्जीटको व्यवस्थासहित त्यही टर्मिनल भवन बनाउने योजना अगाडि सारिएको ठाकुरले बताए। विमानस्थलकै जग्गा भएपनि हाल फुटबल मैदान रहेको उक्त स्थानमा हेलीप्याड बनाएर हाल हेलीप्याड रहेको स्थानमा विमानहरुको मर्मतसम्भार तथा पार्किङको व्यवस्था मिलाइने छ। हालको हेलीप्याड रहेको ठाउँमा विदेशबाट आएका चार्टड विमानहरु पनि राख्न मिल्ने छ।
तत्काल आन्तरिक उडानमा थपिने विमानहरुको लागि विमानस्थलमा पार्किङ र मर्मतसम्भावरको लागि स्थान उपलब्ध गराउन नसक्नेगरी साँघुरो भइसकेको छ। केही हप्ता अगाडिमात्र आएको श्री एयरलाइन्सको विमानलाई नेपालगंज पार्किङमा राखिएको छ।
एकमात्र रनवे, उडान तथा अवतरण रुट पनि एउटै भएको कारणले गर्दा पछिल्लो समय आन्तरिक उडानको चाप बढेको भन्दै अत्याधिक एयर ट्राफिक हुने गरेको छ। वष पहिलेको संरचनामा उल्लेख्य क्षमता विस्तार नहुनु, तर उडानहरु थपिँदै जाँदा यो समस्या आएको विमानस्थलले पटकपटक बताउने गरेको छ।
हेलीकप्टरको लागिमात्र बन्ने नयाँ टर्मिनलमा एक्सरेलगायतका सम्पूर्ण सुरक्षा व्यवस्था गर्ने सरकारी योजना रहेको छ। यसको लागि इस्टिमेट गर्नको लागि सिभिल विभागलाई जिम्मा दिइसकिएको प्रवक्ता ठाकुरले जानकारी दिए।
एयर ट्राफिक व्यवस्थापनको लागि थालिएका विभिन्न प्रयासमध्ये यो पनि एक भएको र भएको स्रोतसाधनको अधिकतम प्रयोग गर्दै जाने योजनाअनुरुप यो योजना आउको ठाकुरको भनाइ छ।
यसपछि हाल देखिएको समस्या केही समाधान भएपनि नेपालको एभिएसन व्यापारमा उछाल आइरहेकोले दिर्घकालिन समाधान भने नहुने सरोकारवालाहरुको बताएका छन्।


