फेसबुकबाट चिनजान अनि मायाप्रिती: इन्जिनियर ठानेर बिहे गरेको केटो १० कक्षा पास मात्रै भएपछि…

काठमाडौं, वैशाख २९ । इलाम घर भई ललितपुर बस्ने शिला शर्मा (नाम परिवर्तन)को करिब एक वर्षअघि रमेशप्रसाद तिमल्सिनासँग फेसबुकमार्फत चिनजान भयो । फेसबुक च्याट हुँदै उनीहरू साथी बने ।

तिमल्सिनाले आफू हाइड्रो इन्जिनियर भएको र ठूलो कम्पनीमा काम गर्ने बताएका थिए । त्यही ‘प्रोफाइल’का आधारमा युवती उनीसँग निकट भएकी थिइन् । भर्चुअल दुनियाँबाट झन् नजिक हुँदै उनीहरू भेटघाट गर्न थाले ।

मीठा कुरा गर्ने तिमल्सिनाले शिलालाई सजिलै प्रभावमा पारे । छोटो अवधिमै उनीहरू प्रेमी–प्रेमिका भए । काठमाडौंमा घर भएको इन्जिनियर केटो भनेपछि परिवारले पनि तिमल्सिनासँग उनको बिहे गराउन हतार गरे । गत फागुनमा उनीहरूको बिहे भयो ।

बिमा कागजपत्रले रहस्य खुल्यो

बिहेमा परिवार व्यस्त भएकाले आउन नपाएको तिमल्सिनाले बताएका थिए । आफ्ना साथीहरूलाई आफन्त भन्दै उनले बोलाएका थिए । जसले गर्दा शिलाको परिवारमा बिहेकै दिनमा शंका उत्पन्न भएको थियो । बिहेको करिब दुई महिनापछि श्रीमानको झोलामा शिलाले बिमासम्बन्धी कागजपत्र भेट्टाइन् । केही बच्चाहरूको बिमा गरेको कागज थियो, जसमा आफ्नो श्रीमानको नाम बुबा भनेर उल्लेख थियो ।
पहिलेदेखि नै श्रीमानको व्यवहार उनलाई केही शंकास्पद लागेको थियो । त्यो कागजपत्र देखेर उनी झस्किइन् । श्रीमानसँग केरकार गर्दा उनले पहिले नै बिहे गरिसकेको र सन्तानसमेत रहेको खुल्यो । त्यसपछि उनी माइती गइन् । माइतीमा सल्लाह गरेर श्रीमानविरुद्ध उजुरी दिइन् ।

महानगरीय प्रहरी परिसर ललितपुरले तिमल्सिनालाई गत २१ वैशाखमा पक्राउ गरेको छ ।

आर्थिक लाभ लिन ढाँटेर बिहे

आर्थिक लाभ लिने उद्देश्यले उनले आफू इन्जिनियर भएको भन्दै ढाँटेर युवतीसँग बिहे गरेको खुलेको छ । तिमल्सिनाले बिहेका नाममा पैसा र सुन लिएर ठगीसमेत गरेको परिसरका डिएसपी ईश्वर कार्कीले बताए । बिहेका लागि भन्दै उनले युवतीको माइतीबाट दुई लाख नगद र सुनका गहना लिएका थिए । एकान्तकुनामा डेरामा बस्दै आएका तिमल्सिनाका जेठी श्रीमती र बच्चाहरू भने गाउँमै छन् ।

सिन्धुपाल्चोक बलेफी घर भएका उनी पहिलेदेखि नै ठगीमा संलग्न रहेको प्रहरीले जनाएको छ । दुई वर्षअघि काठमाडौंमा ठगीकै आरोपमा पक्राउ परेका उनलाई अदालतले समेत दोषी ठहर गरी कैद सजाय सुनाइसकेकोमा उनी फरार थिए । फेसबुकमा युवतीहरूलाई साथी बनाउने र आफू इन्जिनियर भएको भन्दै उनले प्रभावमा पारेर नजिकिने गरेका थिए ।

इन्जिनियर भनेपछि युवतीहरू नजिकिने भएकाले तिमल्सिनाले त्यस्तो तरिका अपनाएका थिए । अरू केटीहरूलाई पनि उनले ठगी गरेको हुन सक्ने प्रहरी आशंका छ ।

केही वर्षअघि एक हाइड्रोपावर कम्पनीको स्टोर शाखामा काम गरेका उनी १० कक्षा पास मात्र भएको खुलेको छ । पक्राउ परेपछि उनले युवती आफूसँगको प्रेममा ‘फिदा’ भएकाले उनको ज्यान जोगाउन आफूले ढाँटेर बिहे गरेको दाबी गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।