‘सरकारद्धारा सञ्चालित बृद्दभत्ताको कार्यक्रम चुनावमा भोट मागी खाने भाडो’
धनकुटा खबर, असार ११ । नेपाली कांग्रेस धनकुटा नगरपालिकाका मेयर पदका उम्मेद्धार दिनेश राईले सरकारद्धारा सञ्चालित बृद्दभत्ताको कार्यक्रम चुनावमा भोट मागी खाने भाडोको रुपमा प्रयोग हुन नहुने वताउनुभएको छ ।

दोश्रो चरणमा असार १४ गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस धनकुटाले आज हिलेमा सञ्चालन गरेको वृहत चुनावी घरदैलो कार्यक्रम र त्यपसपछि भएको सभालाई सम्वोधन गर्दै उहाँले वृद्धाभक्ता असक्त वृद्धवृद्धाको सम्मानका लागि सरकारले सञ्चालन गरेको भन्दै उहाँले यसलाई चुनावमा भोट माग्ने माध्यमको रुपमा प्रयोग गर्न गलत हुने वताउनुभयो ।

उहाँले अहिले वृद्धवृद्धाहरुले पाईरहेको समाजिक सूरक्षा भत्ता अर्थात वृद्धाभक्ता पर्याप्त नभएको भन्दै आगामी दिनमा यसलाई अझ वृद्धी गरी प्रदान गर्ने वताउनुभयो । स्थानीय तह निर्वाचनका लागि आफ्नो घोषणा पत्र जनता समक्ष वाचन गरी सुनाउदै उहाँले हिलेलाई पर्यटकको हिसावले विकास गर्ने, हिलेमा विभिन्न जातजातीको संग्राहलय निर्माण गर्ने, धनकुटा नगरमा एकिकृत वस्ति विकासका लागि पहल गर्ने, प्रत्येक टोलमा सडक विस्तार तथा स्तरोन्नती गर्ने, हिलेको खानेपानी समस्या समाधानका लागि पहल गर्ने स्वास्थ्य सुविधाका लागि एम्वुलेन्स सेवालाई व्यवस्थित र सहज वनाउने, अस्पतालको स्तरोन्नती गर्ने लगायतका योजना अघि सार्नुभयो ।

साथै उहाँले मेयरपदमा आफुले जिते सरकारद्धारा प्राप्त हुने आफ्नो व्यक्तिगत भत्ता गरिव जनताको वालवालिका पठनपाठनका लागि कोष निर्माण गरी छात्रावृत्ती स्वरुप प्रदान गर्ने पनि घोषणा गर्नुभयो । त्यस्तै गरी पार्टीका जिल्ला सचिव विजय सन्तोषी राईले जिल्लाको ३ नगरपालिका र ४ गाउँपालिका गरी ७ वटा स्थानीय तहको निर्माण नेपाली कांग्रेसको नेतृत्वमा भएको हुदा स्वत रुपमा यसको विकास पनि नेपाली कांग्रेसले मात्र गर्न सक्ने हुदाँ रुख चिन्हमा भोट दिई कांग्रेसलाई विजयी गराउन मतदाताहरुलाई आग्रह गर्नुभयो ।
उहाँले नेकपा एमाले र माओवादी पार्टीले लेख्न नसकेको संविधान कांग्रेसको नेतृत्वमा लेखिएको जस्ता कामहरुले कांग्रेस नै देशलाई नेतृत्व गर्न सक्ने पार्टी भएकोले पनि स्थानीय तहको चुनावमा कांग्रेसलाई विजयी गराउन आवश्यक रहेको वताउनुभयो । घरदैलो अभियान तथा सभामा सांषद मनोहर नारायण श्रेष्ठ मेयर उम्मेद्धार राई, उपमेयर उम्मेद्धार रेणु श्रेष्ठ, लगायतकाले सम्वोधन गरेका थिए ।
सभा नेपाली कांग्रेसका धनकुटा १ हिलेका सभापति शम्सेर गोम्वाको अध्यक्षतमा सञ्चालन भएको थियो भने स्वागत मन्तव्य १ नं वडाध्यक्ष उम्मेद्धार रुकमान तामाङ्गले राख्नुभएको थियो ।

