जिसस भक्तपुरको निर्वाचनका लागि एमालेले सबै पदमा उम्मेदवार टुंगो लगायो, निर्वाचन कहिले ?
जिसस भक्तपुरको निर्वाचन साउन २२ गते हुने
काठमाडौं, १५ साउन । जिल्ला समन्वय समिति (जिसस) भक्तपुरको निर्वाचनका लागि एमालेले सबै पदमा उम्मेदवार टुंगो लगाएको छ ।
एमाले जिल्ला कमिटी भक्तपुरले जिल्ला समन्वय समिति (जिसस) भक्तपुर प्रमुखमा चाँगुनारायण नगरपालिका–३ का निर्वाचित सदस्य नवराज गेलाल र उपप्रमुखमा सूर्य्विनायक नगरपालिका–७ का सदस्य सरिता कुँवरलाई उम्मेदवार बनाएको छ ।
जिसस सदस्यहरूमा शकुन्तला श्रेष्ठ, गीता देउजा, कमला पोखरेल, दलित तथा अल्पसंख्यक सदस्यमा गीता विसुङखे, अजय तामाङ, उमेश श्रेष्ठ, बाबुकाजी श्रेष्ठलाई छनोट गरेको एमाले जिल्ला अध्यक्ष राजेन्द्र राजथलाले बताए । जिससमा उम्मेदवार हुन स्थानीय तह निर्वाचनको कुनै पदमा निर्वा्चित भएको हुनुपर्ने संवैधानिक प्रावधान छ ।
जिल्ला समन्वय समिति भक्तपुरमा एमालेको बहुमत छ । कांग्रेस र नेमकिपाले भने आफ्ना उम्मेदवार छनोट गरेका छैनन् । जिसस गठनका लागि आइतबार मनोनयन दर्ताको मिति तोकिएको जिल्ला समन्वय समिति भक्तपुरले जनाएको छ ।
जिसस भक्तपुरको निर्वाचन साउन २२ गते हुनेछ । जिल्ला समन्वय समिति निर्वाचनका लागि निर्वाचन आयोगले भक्तपुर जिल्ला अदालतका न्यायाधीश भोजराज शर्मालाई निर्वाचन अधिकृत नियुक्त गरेको छ ।


