कडा सुरक्षा घेराबीच मध्यरातबाट शुरू भएको भरतपुरको पछिल्लो मतपरिणाम यस्तो छ…
चितवन, भरतपुर महानगरको मतगणना मध्यरातबाट शुरू भएको छ । १९ नम्बर वडामा पुनःमतदान भएपछि शुक्रबार मध्यरातबाट मतगणना शुरु भएको हो ।
कडा सुरक्षा घेराबीच दलका प्रतिनीधिहरु गणनास्थलमा छन् । तीनै सुरक्षा निकायको घेराबीच तारको घेराभित्र गणना शुरु भएको छ ।
पहिलो चरणको स्थानीय निर्वाचन अन्तर्गत ३१ वैशाखमा सम्पन्न भरतपुर महानगरको मतगणनाका क्रममा नेकपा माओवादी केन्द्रका प्रतिनीधिले मतपत्र च्यातेपछि पुनः मतदान भएको हो । १९ नम्बर वडाको मतगणना भइरहेका बेला १४ जेठमा मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुनःमतदानको निर्णय लिएको थियो ।
तर, सर्वोच्च अदालतमा रीट दायर भएपछि रोकिएको उक्त निर्णयलाई सर्वोच्चले समेत सदर गरेपछि मतदान भएको हो ।
२९ वडा मध्ये १९ र २० नम्बर वडाको गणना बाँकी हुँदा मतपत्र च्याँतिएको थियो । भरतपुरमा नेकपा एमालेका देवी ज्ञवाली र माओवादी केन्द्रका रेणु दाहालबीच मेयर पदमा स्पर्धा छ । दुई वडाको गणना बाँकी रहँदा ज्ञवाली ७६४ मतान्तरले अगाडि छन् ।



