रेणु दाहालले जित्दै गर्दा किन छाडे पिटरले माओवादी ?
काठमाण्डौ, २१ साउन । लेखक तथा बामबुद्धिजिवी नरेन्द्रजंग पिटरले माओवादी केन्द्रसँगको आवद्धता तोडेका छन् ।
पिटरले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी छाडेको घोषणा गरेका हुन् । उनले आधारभूत रुपमै मतान्तर भएपछि ३९ वर्ष लामो पार्टीसँगको आबद्धता तोडेको उल्लेख गरेका छन् । पार्टी छाडे पनि विचार, आन्दोलन र अभियान नछाडेको भन्दै उनले अब कुनै पार्टीमा भने प्रवेश नगर्ने स्पष्ट गरेका छन् ।
पिटरले आफ्नो आगामी भूमिका पार्टीरहित माओवादीको हुने घोषणासमेत गरेका छन् । ‘धेरै दिनदेखि तनाब र दबाबमा रहें । उनले आधारभूत विषयमै मतान्तर भएपछि ३९ वर्षदेखि आवद्ध रहेको पार्टी मात्र छाडेको हुँ । विचार, आन्दोलन र अभियान छाडेको भने होइन । नो गुनासो, नो गाली, नो प्रवेश एनी पार्टी । इतिहासप्रति पश्चात्ताप छैन, बरु समयमै यथोचित भूमिका निभाउन नसेककमामा भने दुःख लाग्या छ । अबको भूमिका पार्टीरहित माओवादी’, पिटरले लेखेका छन् ।
माओवादी शान्ति प्रक्रियामा प्रवेश गरेको केही समयदेखि नै माओवादी नेताका विचार र व्यवहारमा देखा परेका असंगतिका विषयमा उनले तीखो कलम चलाउँदै आएका थिए ।
उनले नेपालका सबै जसो दैनिक पत्रिकामा स्तम्भकारका रुपमा लेखेका छन् । संयोग कस्तो परेको छ भने भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल जित उन्मुख पुगेका बेला पिटरले पार्टी छाडेका हुन् ।



