यस्तो रहेछ सिद्धार्थलाई अध्यक्ष बनाउने सूर्यबहादुर थापा परिवारको कुटिल चाल !
धनकुटा खबर । ‘काही नभएको जात्रा हाडिगाउँमा’ भने जस्तै यतिबेला राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व केन्द्रिय अध्यक्ष स्व. सूर्यबहादुर थापाका भतिजा कुमारबहादुर थापा र पुत्र सुनीलबहादुर थापाबीच पुनः विवाद सुरु भएको छ ।

स्व. सूर्यबहादुर थापा पुत्र सुनीलबहादुर थापा मन्त्री बनाइएपछि जिल्लामा बलियो पकड बनाएका कुमार थापाले पारिवारिक विद्रोह शुरु गरेका थिए । त्यसबेला बल्लबल्ल सो विवाद मिलेको थियो । अहिले फेरि मालिगाउँले नातीलाई राजनीतिमा अगाडी सारेपछि द्धन्द्ध चर्किन थालेको छ ।

जिल्लामा शक्तिशाली भएपछि यतिबेला मालिगाउँबाट कुमारलाई कमजोर बनाउन अनेक हत्कण्डा अपनाउन थालिएको छ । उनलाई एक्ल्याउन सुनील थापा र सिद्धार्थ थापा नै लागेका छन् । जिल्ला संगठन समितिका अधिकाँस सदस्य कुमारका पक्षमा छन् । तर कुमार पक्षीय कार्यकर्तालाई आफुतिर तान्न मालिगाउँले भएभरको बल लगाइरहेको छ । सिद्धार्थलाई जिल्ला अध्इक्ष बनाउने भित्री खेलमा लागेका सुनीलले जिल्लाका ठुटे कार्यकर्तालाई समेत प्रयोग गरिरहेका छन् ।

मालिगाउँले प्रयोग गरेका ती नेताहरुको काम भनेकै कसरी कुमारलाई कमजोर बनाउन सकिन्छ भन्ने हो । उनीहरुले जिल्लामा के भइरहेको छ भनेर रिपोर्टिङ पनि गर्छन् । कुमारले जिल्ला पार्टी चलाउन नसक्ने, कुमार कै कारण पार्टी माथी उठ्न नसकेको जस्ता आरोप लगाएर मालिगाउँले जिल्ला अध्यक्ष कुमारलाई हटाएर सिद्धार्थलाई अध्यक्ष बनाउन खोजिरहेको छ ।
त्यसैको प्रयास स्वरुप फागुन पहिलो साता भएको जिल्ला समितिको बैठकमा कसैले पनि सिद्धार्थको नाम प्रस्ताव नगर्दा सुनील आफैंले सिद्धार्थको नाम थप्न लगाएका थिए । त्यही बेला आफु बहुमतमा पुग्न सुनीलले दिउँदो मिटिङमा भएको निर्णय मिचेर अन्यको नाम थप्न लगाएका थिए । तर, त्यसको भोलिपल्ट कुमार थापाले थाहा पाएपछि कम्प्युटर टाइप गरेर ल्याइएको नामावली च्याँतेका थिए ।
दोस्रो संविधानसभाको निर्वाचनका बेला थापा परिवार बीचको द्धन्द्ध सार्बजनिक भएपछि सूर्यबहादुर थापाले पारिवारिक विरासत बिग्रन्छ भन्दै कुमारलाई फकाएका थिए । थापाका मृत्युपछि सुनील र कुमार बीचको सम्बन्ध देखावटी मात्रै राम्रो बनेको थियो । तर, सिद्धार्थ थापालाई जिल्ला सभापति बनाउने खेलमा सुनील लागेपछि पुरानो सम्बन्ध फेरि तोडिएको छ । स्रोतहरुका अनुसार कुमार र सुनील थापाबीच समाजलाई देखाउनका लागि मात्र बोलचाल हुन्छ ।
यस्तो छ कुमारले बनाएको कार्य समिति
सुनील थापाभन्दा चतुर खेलाडी कुमार थापाले पनि आफुलाई जिल्ला अध्यक्षबाट गलहत्याउन खोजिएछि जिल्ला कार्यसमितिलाई पूर्णता दिएका छन् । फागुनमा कमल थापाले नेतृत्व गरेको राप्रपा नेपालसँग एकता हुने भएपछि भएको पहिलो जिल्ला भेलाले कुमार थापालाई जिल्ला अध्यक्ष बनाएको थियो भने बालानन्द भूर्तेललाई सहअध्यक्ष बनाएको थियो ।
त्यसबेला सम्पूर्ण अधिकार अध्यक्षलाई दिइएका कारण कुमारले अहिले स्थानीय तहको निर्वाचनमा १ सय १५ मत कटाउने उम्मेद्वारलाई जिल्ला समितिमा राखेका छन् । उनले हाल १७ जनाको समितिमा ९ जना नयाँ अनुहारलाई समेटेका छन् । जसमा दुर्गा पुरी, खगेन्द्र थापा, कमल श्रेष्ठ, रेगेन्द्र लिम्बु, नगेन्द्र राई, लोकेन्द्र घिसिङ, महेन्द्र निरौला, चन्द्र मगर र कृष्ण गुरुङलाई जिल्ला समितिमा ल्याएका छन् ।
त्यसैगरी जिल्ला समितिमा शंकर थापा, रेवत भण्डारी, माधब भट्टराई, चन्द्र याख्खा र पवित्रा श्रेष्ठलाई पनि जिल्ला समितिमा मनोनयन गरेका छन् । कृष्ण थापा, गौपाल पौडेल र पृथसिंह राई भने पदेन सदस्य हुन् ।
यसरी कुमार थापाले जिल्लामा सदस्य मनोनित गरेको थाहा पाएपछि मालिगाउँ जसरी पनि कुमारलाई लाता हान्ने योजनामा लागेको छ । त्यही भएर पनि मालिगाउँले राप्रपाबाट पार्टी फुटाएलगत्तै नवगठित राप्रपा (प्रजातान्त्रिक) लाई २० जिल्लाको साथ रहेको प्रचार गरेको थियो । २० जिल्लामध्येकै धनकुटाले तत्काल राप्रपा प्रजातान्त्रिकलाई समर्थन नरहेको प्रष्ट्याएपछि मालिगाउँमा मात्रै नभएर राप्रपा प्रजातान्त्रिकमै खैलाबैला मच्चिएको थियो ।
आक्कलझुक्कल जिल्लामा पाइला टेकेर जिल्लामा प्रभाव जमाउन खोज्ने सुनील थापाको पक्षमा कार्यकर्ता छैनन् । उनीसँग कार्यकर्ता रुष्ट बनेको अवस्थामा युवासँग काम गर्नेगरी सुनीलले सिद्धार्थलाई प्रयोग गर्ने गरेका छन् । तर, हिलेका मात्रै युवालाई साथ लिन थालेपछि युवा अन्य ठाउँका युवाले सिद्धार्थलाई वास्ता गर्दैनन् ।
दोस्रो संविधानसभाको निर्वाचनका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीले हिलेका युवाहरुलाई प्रयोग गरेको थियो । अघिल्लो संविधानसभाको निर्वाचनमा तत्कालीन नेकपा माओवादीले हिलेका युवाहरु प्रयोग गरेको थियो । यसपटक राप्रपाले प्रयोग ग¥यो । विगतलाई हेर्दा पनि हिलेका युवालाई राजनीतिक पार्टीहरुले चुनावताका प्रयोग गर्ने गरेका थिए । हिलेका युवा प्रयोग गर्दा आफ्नो अभिष्ट पूरा हुन्छ भन्ने ठानेर यसपटकको चुनावमा राप्रपाले पनि आफ्नो कब्जामा राखेको थियो ।
दोस्रो संविधानसभाको निर्वाचनमा ‘म विकासका लागि राजनीति गर्न आएको हुँ’ भनेपछि जिल्लाका माओवादी कार्यकर्तासमेत सुनील थापाका पछि दौडिएका थिए तर पहिल्लो कालमा जिल्लाका युवालाई वाइपास गरेको थाहा पाएपछि उनीहरु रुष्ट बनेका छन् ।
को हुन कुमार थापा ?
जिल्लामा उनलाई निक्कै चतुर खेलाडीका रुपमा चिनिने गरिएको छ । तर, सूर्यबहादुर थापाले आफ्नो सास रहुन्जेलसम्म कहिले पनि जिल्लाबाट माथि उठ्न दिएनन् । सधैं जिल्लामा थन्क्याउँदै सधैं प्रयोग गर्ने गरेका थिए ।
पञ्चायतकालदेखि नै संघर्ष गर्दै आएका कुमार थापा माओवादी १० वर्षे द्धन्द्धकालमा पनि पीडित भएका थिए । उनी राजनीतिक यात्राका क्रममा धेरै पटक कुटाईपिटाई खाएका छन् ।
त्यही भएर पनि जिल्लामा पार्टी अध्यक्ष चलाउन अरुले हिम्मत गरेका छैनन् । तै पनि उनलाई कमजोर बनाउन मालिगाउँबाट जिल्ला तहका कार्यकर्ता पैसामा किन्ने खेल भइरहेको छ ।


