विज्ञ भन्छन,- डोक्लाम विवादले दक्षिण एसियामा भारतको दादागीरी बन्द गरायो
काठमाडौं । डोक्लाम विवाद शुरु भएपछि भारतको क्षेत्रीय दादागीरी अन्त्य भएको अनि भारतको अधीनमा रहेका देशहरू तटस्थ रहेको वा चीनको पक्षमा बोल्न थालेको विज्ञहरूले बताएका छन् ।
‘भारतले नेपाललगायत दक्षिण एसियाका धेरै देशहरूका विदेशनीतिमा गहिरो प्रभाव पार्ने गरेको थियो । तर भारतले सीमाक्षेत्रमा चीनलाई चिढ्याएपछि ती देशहरूले दिएको प्रतिक्रियाबाटै भारतको दबदबा सकिएको देखाउँछ । यी देशहरूले पनि भारतको नियन्त्रणमा मुक्त हुनका लागि यो अवसरको उपयोग गरेका छन्,’ शांघाई एकेडमी अफ सोसल सायन्सेसको इन्स्टिच्युट अफ इन्टरनेसनल रिलेसन्सका रिसर्च फेलो हु झियोङले बताए ।
बुधवार मात्र चीन र नेपालले पेटी सडक परियोजनाअन्तर्गत द्विपक्षीय साझेदारी गर्ने सहमति गरेका छन् । यसले दुई देशबीचको मैत्री सम्बन्ध थप मजबूत हुनेछ ।
चिनियाँ उपप्रधानमन्त्री वाङ याङसँगको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको राष्ट्रिय विकास तथा विपत्तिपछिको पुनर्निर्माणमा चीनको निरन्तर सहयोगप्रति कृतज्ञता प्रकट गरेकी थिइन् ।
भण्डारीले नेपाल र चीनबीच लगातार उच्चस्तरीय सम्पर्क कायम रहेको र विविध क्षेत्रमा द्विपक्षीय सहयोग राम्ररी कायम रहेको बताएका थिए । उनले नेपाल एक चीन नीतिमा अडिग रहने प्रतिबद्धता जनाउँदै नेपाली भूमिमा चीनविरोधी गतिविधि हुन नदिने बताइन् ।
नेपालको पूर्वी सीमा डोक्लाम पठारबाट केही दर्जन किलोमिटर मात्र पर छ ।
चिनियाँ विज्ञहरूले यस विषयमा भारतीय सम्भ्रान्तहरूले ईर्ष्या देखाउने सम्भावना रहनु आश्चर्यको कुरा नभएको बताए ।
‘भारतले आफ्ना साना छिमेकीहरूलाई कहिल्यै बराबरी व्यवहार गरेन र सन् १९७५ मा त उसले छिमेकी मुलुक सिक्किमलाई विशाल सैन्य शक्ति र राजनीतिक प्रभावमार्फत आफूमा विलय गरायो । नेपालले सन् २०१५ मा नयाँ संविधान लागू गर्दा भारतले नेपाललाई धम्क्याउन तेल आयात बन्द गरिदियो,’ हुले भने । ‘भुटानले भारतीय दादागीरीका कारण स्वतन्त्र कूटनीति उपयोग गर्नसमेत पाएको छैन ।’
भुटानले भारतको नियन्त्रणका कारण चीन वा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का अन्य स्थायी सदस्यहरूसँग कूटनीतिक सम्बन्ध कायम गर्न पाएको छैन र त्यहाँ पेटी सडक लगानी पनि अहिलेसम्म हुन पाएको छैन ।
पेटी सडक परियोजनाले दक्षिण एसियाली मुलुकहरूलाई फाइदा गर्नेछ । नेपाल, श्रीलंका, बंगलादेश र माल्दिभ्सले चीनको लगानी र निर्माण परियोजनालाई स्वागत गरेका छन् ।
यी सबै देशले डोक्लाम विवादमा तटस्थता देखाएका छन् र पाकिस्तानले त चीनलाई समर्थन नै गरेको छ । – ग्लोबल टाइम्सबाट


