बाबुराम भट्टराई ज्ञान भएको तर बुद्धि नभएको नेता : अध्यक्ष प्रचण्ड
काठमाण्डौ, ४ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई ज्ञान भएको तर बुद्धि नभएको नेताको संज्ञा दिएका छन् ।

आइतबार नयाँ शक्ति र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरेपछि सम्बोधन गर्दै प्रचण्डले बाबुरामलाई बुद्धि नभएको नेताको संज्ञा दिएका हुन् ।
‘रामचन्द्र झा ज्ञान र बुद्धि दुवै भएको नेता हुनुहुन्छ । त्यसैले उहाँ फेरि माओवादीमा फर्किनुभयो’, नयाँ शक्तिबाट माओवादीमा फर्किएका नेता झाको प्रशंसा गर्दै प्रचण्डले भने, ‘हाम्रो देशमा धेरै विद्वान नेता छन् तर उनीहरुसँग बुद्धि छैन, बाबुराम भट्टराईविद्वान हुनुहुन्छ तर, उहाँको बुद्धि छैन ।’
माओवादीबाट विभाजन भए पनि विभाजित सबै नेता आउनुपर्ने र नआए उनीहरुको केही बाँकी नहुने प्रचण्डले दाबी गरेका छन् ।
आजको पार्टी प्रवेश कार्यक्रममा माओवादी मित्र रहेको विभाजनको तितो एकताको मिठोमा परिणत हुँदै गरेको दाबी समेत प्रचण्डले गरे । उनले अब फेरि माओवादी पार्टी पहिलो नम्बरको बन्ने र देश विकास गर्ने उद्घोष गरेका छन् ।


