‘हलो’ दाबी गर्दै आएको राप्रपा (प्रजातान्त्रिक) ले अब ‘पाङ्ग्रा’ चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गर्ने
काठमाडौं, १४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले २ नं. प्रदेशको स्थानीय तहको निर्वाचनमा आफ्ना उम्मेदवारहरूले ‘पाङ्ग्रा’ चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गर्ने जनाएको छ ।

राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शम्शेर राणाले बुधबार प्रेस विज्ञप्ति जारी गरेर २ नं. प्रदेशका पर्सा, बारा, रौतह, सर्लाही, धनुषा र सप्तरी जिल्लामा चुनाव चिन्ह ‘पाङ्ग्रा’ प्रयोग गर्ने बताउनु भएको छ । महोत्तरी र सिरहामा भने एकै लहरमा रहने स्वतन्त्र चुनाव चिन्ह प्रयोग गरिने प्रवक्ता किरण गिरीले जानकारी दिनुभयो ।
‘पाङ्ग्रा’ चुनाव चिन्ह संसदमा प्रतिनिधित्व गर्ने हरिचरण शाह नेतृत्वको नेपाली जनता दलको हो । सोही दलसँगको सहकार्यमा राप्रपा (प्रजातान्त्रिक)ले स्थानीय तह निर्वाचनमा प्रयोग गर्न लागेको छ ।
भरखरै नयाँ दलका रुपमा मान्यता पाएको राप्रपा (प्रजातान्त्रिक)ले चुनाव चिन्ह पाएको छैन । उसले ‘हलो’ चिन्हमा दाबी गर्दै आएको छ ।


